गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भरतपुर महानगर र बागमती प्रदेश सरकारले निर्माण गर्ने

गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भरतपुर महानगर र बागमती प्रदेश सरकारले निर्माण गर्ने

काठमाडौं : चितवनको भरतपुरमा अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारले बनाउने सहमति भएकाे छ। 

बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा मंगलबार बसेको बैठकमा अलपत्र अवस्थामा रहेको रंगशालाको काम लागत साझेदारीमा गर्ने सहमति भएको हो। 

बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रंगशालाको काम अघि बढाउने निर्णय गरेको छ। 

बैठकले भरतपुर महानगरपालिकाले पहिलो चरणमा गर्नुपर्ने कामका लागि तयार गरेको लागत अनुमान ७५ करोड रुपैयाँ बराबरको काम लागत साझेदारीमा महानगरपालिकाले अघि बढाउने गरी निर्णय गरिएको हो।

यसअघि बनेका संरचनालाई संरक्षण गर्दै खेल खेल्न मिल्ने गरी काम अघि बढाउन सहमति भएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बताइन्।

यसअघि धुर्मुस–सुन्तली फाउण्डेशनले काम गर्दाको बाँकी भुक्तानी लगायतका विषयमा संघीय सरकारले निर्णय गर्ने उनले बताइन्। 

भरतपुर महानगरपालिका-१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको दुई वर्षभन्दा बढी भएको छ। 

सीताराम कट्टेलको फाउण्डेसनले २० बिघा छ कट्ठा जग्गामा निर्माण थालेको क्रिकेट रंगशालाको काम रकम अभावमा २०७८ साउन २० गते रोकिएको थियो। 

फाउण्डेसनले रंगशालाको स्वामित्व लिइदिन अनुरोध गर्दै भरतपुर महानगरलाई पत्र पठाए पनि हालसम्म निर्माणमा लागेको १८ करोड ४३ लाख रुपैयाँ ऋण कसले तिर्ने भन्ने टुङ्गो लाग्न सकेको छैन।

कात्तिक २१, २०८० मंगलबार १६:३७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।