विपद्मा सधैँ ट्रोल हुने अर्बपति, ‘चाउचाउ राहत’ भाइरल भएपछि ‘ट्रान्जिसनल होम’ को प्रचार

विपद्मा सधैँ ट्रोल हुने अर्बपति, ‘चाउचाउ राहत’ भाइरल भएपछि ‘ट्रान्जिसनल होम’ को प्रचार

काठमाडौँ : सरकारले जब उत्कृष्ट करदातालाई पुरस्कृत गर्छ  सूचीमा सधैँ छुट्छ नेपालका ‘एक मात्र अर्बपती व्यवसायी विनोद चौधरी। अनि आलोचना सुरु हुन्छ सञ्जालमा।

विपद्मा उनले चौधरी फाउन्डेशनमार्फत घोषणा गर्ने राहतको हालत पनि उस्तै हुन्छ। बाढी या पहिरो लगायतका ठुला विपद् आउँदा अन्य व्यवसायी समूहले प्रधानमन्त्री राहत कोषमा सहयोग गर्छन्। चौधरी समूहले फाउन्डेशनमार्फत राहत र पुनर्निर्माणको घोषणा गर्छन् अनि ट्रोलमा पर्छन्।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पपछिको विनाशमा निजी क्षेत्रले सरकारसँग हातेमालो गर्दै नगद सहयोगको घोषणा गर्दा विनोद र निर्वाण चौधरीले राहतै लिएर जाजरकोट हिँडेको भन्दै तस्बिर सार्वजनिक गरे।

पुन्टे डेलिभरीभ्यानभरी वाइवाइ चाउचाउको बाकस देखेपछि सामाजिक सञ्जालमा ट्रोल सुरु भयो।

सञ्जाल प्रयोगकर्ताहरूले राहत भनेर केही पोका चाउचाउ लगेर  प्रचार मोह देखाएको भन्दै टिप्पणी सुरु गरे।

‘देखियो चौधरी साहब राहतमा चाउचाउका पोका, पोका भन्दा धेरै तपाईँको कम्पनीको ब्यानरहरू पनि देखियो। हजुर हुनुहुन्छ र त देश चलेको छ। कुनै जमानामा बागमती सफा गर्छु भन्नुभयो, त्यसपछि बागमतीमा निर्मल पानी बगेको छ। क्रिकेट स्टेडियम बनाइदिनुभयो र आज विश्वकपमा पुग्न पाइएको छ। हजुरको महिमा अपरम्पार छ प्रभु’ विनोद पौडेलले चौधरीको ट्विटमा टिप्पणी गरेका छन्।

निर्वाण चौधरीको ट्विटमा एक प्रयोगकर्ताले लेखे’हैट, चाउचाउ सहयोग? कि अरू पनि छन्? लाजमर्दो होला है? अर्बमा अरू कुरा नगरुन्! नेपालीहरूले! धन्यवाद।’

चाउचाउ राहत ट्रोल भएपछि मङ्गलवार चौधरी समूहले अर्को राहत कार्यक्रम सार्वजनिक गर्यो ‘ट्रान्जिसनल होम’ को जुन २०७२ मै गोठजस्तो भनेर आलोचित भएको थियो।

विनोद चौधरीले ट्विट गर्दै सार्वजनिक गरेको तस्बिरमा मिङमार जी शेर्पाले प्रतिक्रिया दिए‘हजुर यो खालको सेल्टर त साह्रै भएन। गाई गोठ पनि यो भन्दा राम्रो हुन्छ। सुरक्षा पनि महत्त्वपूर्ण हुन्छ। यो भन्दा राम्रो त टेन्ट हुन्छ।’

जनरल म्यानेजर मधुसूदन पौड्यालले मङ्गलवार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ‘ट्रान्जिसनल होम’ निर्माणका लागि आवश्यक पर्ने वित्तीय सहयोग चौधरी फाउन्डेसनले गर्ने उल्लेख छ। तर कति सहयोग भन्ने उल्लेख छैन। स्थानीय निकायले सेल्टर निर्माणका लागि आवश्यक पर्ने जमिन र स्थानीय तहमै उपलब्ध सामान एवं श्रमको व्यवस्थापन गर्ने उल्लेख छ।

२०७२ को भूकम्पपछि फाउन्डेसनले १० जिल्लामा यस्तै ‘ट्रान्जिसनल होम’ निर्माण गरेको भन्दै तस्बिर सार्वजनिक गरेको थियो। सो तस्बिर अनुसार यस्ता घर बाँसबाट निर्माण गरिन्छ। बास स्थानीय स्रोत भइहाल्यो। श्रम स्थानीयहुँदा फाउन्डेसनले जस्ता अनि सिसा किन्ने गरेको देखिन्छ।

विज्ञप्तिमा गरिएको दाबी अनुसार फाउन्डेसनले पहिलो चरणमा पश्चिम रुकुमको चौर जहारी नगरपालिकाबाट ‘ट्रान्जिसनल होम’ निर्माणको काम गर्ने सहमति भएको छ। कात्तिक २१ गते चौधरी फाउन्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प वादीवीच नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने सहमति भएको उल्लेख छ।

फाउन्डेसनले काम सार्वजनिक गर्ने गरे पनि खर्च भने सार्वजनिक गर्दैन। चौधरी फाउन्डेसनको आधिकारिक वेबसाइटमा समेत राखिएको छैन।

यस अगाडि निर्माण गरिएको ‘ट्रान्जिसनल होम’ को खर्च विवरण सार्वजनिक भएको थिएन। यस पटक निर्माण गरिने भनिएको ट्रान्जिसनल होम’ को अनुमानित लागत समेत सार्वजनिक गरेको छैन।

चौधरी समूह वित्तीय, खाद्यदेखि होटेल व्यवसायमा समेत संलग्न छ। सरकारी नीति अनुसार यस्ता व्यावसायिक क्षेत्रले निश्चित रकम सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नैपर्छ। अन्य व्यवसायीहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका खर्च सार्वजनिक हुने गरेका छन्।

कात्तिक २१, २०८० मंगलबार १५:२८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।