आफ्नो २४ वर्षे विश्वकप इतिहासमा बंगलादेशको कीर्तिमानी जित

आफ्नो २४ वर्षे विश्वकप इतिहासमा बंगलादेशको कीर्तिमानी जित

काठमाडौं : भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत सोमबारको खेलमा बंगलादेशले तीन विकेटको कीर्तिमानी जित निकालेको छ।

श्रीलंकाले दिएको २८० रनको लक्ष्य पछ्याएको बंगलादेशले ४१.१ ओभर (५३ बल बाँकी छँदै)मा सात विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

आफ्नो २४ वर्षीय विश्वकप इतिहासमा पहिलोपटक बंगलादेशले श्रीलंकालाई पराजित गरेको हो। बंगलादेशले सन् १९९९ मा इंग्ल्याण्डमा भएको विश्वकपमा पहिलो पटक सहभागी भएको थियो।

विश्वकपमा बंगलादेश र श्रीलंका चारपटक आमनेसामने भएका छन्। जसमध्ये तीनपटक श्रीलंकाले जितेको थियो।

बंगलादेशको जितका लागि नजमुल हुसेन सान्तोले सर्वाधिक ९० रनको अर्धशतकीय पारी खेले।

सकिब अल हसन ८२, लिट्टन दास २३, महदुल्लाह २२, मुस्तिाफिजुर रहिम १०, तन्जिद हसन ९, म्हेदी हसन मिराज ३ रनमा आउट हुँदा टोहिद हृदोय र तन्जिम हसन सकिबले अविजित रहँदै क्रमशः १५ र ९ रन जोडे।

श्रीलंकाका लागि दिसान मधुशन्काले तीन, महीश थीशन्का र एङ्गेलो म्याथूजले समान दुई–दुई विकेट लिए।

त्यसअघि दिल्लीको अरुण जेटली क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको श्रीलंका ४९.३ ओभरमा अलआउट हुँदै २७९ रनमा समेटियो।

श्रीलंकाका लागि चरिथ अशलंकाले १०८ रनको शतकीय पारी खेले।

त्यसबाहेक सदीरा समविक्रमा ४१, पथुम निस्सान्का ४१, धनन्जय डी सिल्भा ३४, महीश थीशान्का २१, कुशल मेन्डिस १९ बनाउनुबाहेक बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

एङ्गेलो म्याथूज भने टाइम आउट भए। उनी क्रिकेट इतिहासमै टाइम आउट हुने पहिलो खेलाडी हुन्।

बंगलादेशका तन्जिम हसन सकिबले तीन, शोरिफूल इस्लाम र सकिब अल हसनले समान दुई–दुई विकेट तथा म्हेदी हसन मिराजले एक विकेट लिए।

जितसँगै बंगलादेश सातौं स्थान र श्रीलंका आठौं स्थानमा छ। दुवै टोलीले आठ–आठ खेल खेले। अब दुवै टोलीले समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ।

दुवै टोलीका लागि विश्वकपको यात्रा समाप्त भइसक्यो।

कात्तिक २०, २०८० सोमबार २२:२८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।