सरकारी गोदामको चिनी रित्याउन खोज्दा बजारमा हाहाकार, मूल्य बढेर ९० बाट १६० पुग्यो

सरकारी गोदामको चिनी रित्याउन खोज्दा बजारमा हाहाकार, मूल्य बढेर ९० बाट १६० पुग्यो

काठमाडौं : तिहार नजिकिए पनि चिनी अभाव कायम छ। बजारमा चिनी अभावपछि सरकारले भारतसँग जीटुजी माध्यमबाट चिनी ल्याउने सम्झौता गरे पनि चिनी आइपुगेको छैन।

सरकारी दुई कम्पनी खाद्य व्यवस्था तथा व्यापार र साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा रहेको मौज्दात चिनी नसकि आयात गर्न अनुमति नदिएपछि देशैभर चिनीको हाहाकार भएको हो।

सरकारले बजार मूल्यमा हस्तक्षेप गर्न र एकाधिकार नियन्त्रण गर्न भन्दै सरकारी कम्पनीबाट चिनी लगायतको खाद्यान्न बिक्री गर्दै आएको थियो। तर, व्यापारीहरूले कृत्रिम चिनी अभाव गर्दा पनि सरकारले भने कुनै हस्तक्षेप गर्न सकेको छैन।

सरकारले साल्ट ट्रेडिङ कर्पाेरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १०/१० हजार टनको दरले आयात गर्ने अनुमति दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए।

अर्थ मन्त्रालयले भदौ २८ गते चिनी ल्याउने सहमति जनाएको र भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत भन्सार छुट दिई आयात गर्न स्वीकृति दिएको थियो। १५ प्रतिशत मात्रै भन्सार शुल्क लाग्ने भए पनि चिनी आयातमा सरकारको पहल कमजोर देखिएको छ।

चिनी उत्पादक संघले सरकारलाई चिनी आयातमा छिट्टै पहल गर्न भदौमै आग्रह गरेको थियो। वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने ६० हजार टन चिनी आयातको लागि सिफारिस गरेको थियो।

गत आर्थिक वर्षको अन्तिम महिनामा काठमाडौंमा चिनी प्रतिकिलो ९० रुपैयाँमा पाइन्थ्यो। साउनको अन्त्यतिर चिनीको मूल्य प्रतिकिलो १०० रुपैयाँ नाग्यो। भदौमा १०५, ११०, र १२० हुँदै महिनाको अन्त्यमा १२५ देखि १३० रुपैयाँसम्म पुग्यो।

कात्तिकको आधा महिनामा नाघिसक्दा चिनीको मूल्य काठमाडौंको विभिन्न ठाउँमा १६० रुपैयाँ प्रतिकिलोसम्म पुगिसकेको छ।

‘चिनी लोड भइसक्यो’
दशैंअघि नै नेपाली बजारमा चिनी अभाव देखिएको थियो। तर, सरकारको तदारुकताको कमीले अहिले उपभोक्ताले सास्ती पाइरहेका छन्।

यता, वाणिज्य विभागका सूूचना अधिकारी आनन्दराज पोखरेलले आज (सोमबार) मात्रै भारतबाट करिब १५ सय टन भन्दा बढी चिनी आउन लोड भइसकेको बताउँछन्।

‘अहिले ७० वटा ट्रकमा करिब १५ सय टन बराबरको चिनी लोड भइसकेको छ, त्यो काठमाडौं आएपछि साल्ट ट्रेडिङ मार्फत बजारमा पठाइहाल्छौँ।’

यता, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुर भोलिदेखि चिनीको समस्या कम हुँदै जाने बताउँछन्।

‘आज चिनी लोड भइसकेको छ। भोलिबाट बजारमा जानेछ। साथै, नेपालका केही उद्योगहरूले पनि उत्पादन गर्न सुरू गरिसकेको छ। साथै, कोकाकोला जस्ता अन्तर्राष्ट्रिय कम्पनीहरूले किनिसकेको चिनीलाई पनि हामीले बजारमा ल्याएर आपूर्ति व्यवस्थालाई सहजता गर्नेतिर हामी उन्मुख छौँ। आज मात्रै पनि ५ ट्रक चिनी आयो।’

‘भारतमा चिनीको मूल्य प्रतिकिलो ४० देखि ४२ रूपैयाँ पर्छ । नेपाली मूल्य ६४/६५ हाराहारी हो । ५० प्रतिशत भन्सार महसुल छुट हुँदा ९० रूपैयाँमा नेपाल आउँछ । ढुवानीसहित जोड्दा करिब ९५ रुपैयाँमा पर्न जान्छ भने, खुद्रा व्यापारी सम्म पुग्दा ११५ रुपैँया पर्छ’, ठाकुरले बताए।

यता, उपभोक्ता मञ्च नेपालका प्रतिनिधि विश्व तिमल्सिनाले सरकार व्यापारीकै अभिन्न अङ्ग भएको आरोप लगाए।

‘हामीले भदौ महिनामै वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ज्ञापनपत्र बुझाएका थियौँ। कुन गोदाममा कति चिनी छ, त्यो देखाइदिन्छौँ पनि भनेका थियौँ। तर उनले कुनै वास्ता गरेनन्। चिनी अभाव गर्नेमा मन्त्रालयका मन्त्री देखि कर्मचारीकै संलग्नता छ। त्यसैले अहिले चिनी अभाव हुनेमा मन्त्रीको लाचारीपन र उद्योगीसँगको संलग्नतामा अभाव भएको हो’, उनले भने।

खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी
साल्ट ट्रेडिङ कर्पोरेसनले खुद्रा व्यापारीको लागि १० बोराको दरले चिनी बिक्री गर्न दिने तयारी गरेको छ। साल्ट ट्रेडिङले उपलब्ध गराउने चिनीको मूल्य ११५ रुपैयाँ हुनेछ।

चिनी अभाव भएपछि प्रधानमन्त्री कार्यालयले चिनी उत्पादक संघसँग समन्वयन गर्दै हाललाई ३ हजार मेट्रिक टन चिनी बजार पठाउने तयारी गरेको छ।

यो चिनी प्रतिकिलो ११५ रुपैयाँमा उपभोक्ताले किन्न पाउनेछन्। व्यापारीले तोकिएका निर्धारित मूल्यभन्दा बढीमा बेचेको खण्डमा भने कारवाही हुने भनिएको छ।

खुद्रा व्यापारी तथा व्यवसायीहरूले सोमबारदेखि साल्ट ट्रेडिङको कालिमाटी शाखा र मंगलबारदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउने कर्पोरेसनले जनाएको छ।

२ वटा फर्मलाई कारबाही  
चिनी उत्पादनमा कमी आएको र आयातमा समेत ढिला भई अहिले बजारमा चिनीको अभाव भएको अवस्थामा फर्महरूले मौका छोपेको पाइएको छ। वाणिज्य विभागका सूचना अधिकारी पोखरेलका अनुसार आज मात्रै २ वटा चिनी फर्मलाई कारबाही गरेको बताए।

‘अहिले बजारमा चिनी अभावको भएको मौका छोपी २ वटा फर्मले बढी मूल्य लिएकोले हामीले पक्राउ गरेका छौँ। एउटा फर्मबाट २५ बोरा र अर्काे फर्मबाट ६ बोरा चिनी बरामद गरेका छौँ। उनीहरूले प्रतिकिलो १ सय ४० रूपैयाँसम्म लिएपछि अनुसन्धान प्रक्रियामा राखेका छौँ’, उनले थपे।

किन हुन्छ वर्षेनी चिनी अभाव? 
भन्सार विभागको तथ्यांक अनुसार चाडपर्वको अवसरमा औषतभन्दा धेरै कम चिनी आयात भएको देखिन्छ।

नेपालमा करिब ६० प्रतिशत मात्रै चिनी उत्पादन हुने गर्दछ। तर, पछिल्लो समय उखु उत्पादनमै कमी आएको कारण वर्षेनी चिनी अभाव हुने गरेको छ।

गत आर्थिक वर्षको तथ्यांकअनुसार नेपालमा प्रतिमहिना औषतमा ५ हजार ३६ टन चिनी आयात हुन्छ।

चालू आर्थिक वर्षको साउनमा १ हजार ५०६ टन चिनीमा आयात हुँदा भदौमा ६ सय २३ टन मात्र चिनी आयात भएको थियो।

कात्तिक २०, २०८० सोमबार २१:३८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।