कोशी प्रदेशसभाबाट बजेटसम्बन्धी अध्यादेश स्वीकृत

कोशी प्रदेशसभाबाट बजेटसम्बन्धी अध्यादेश स्वीकृत

विराटनगर : कोशी प्रदेशसभाले बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरेको छ। प्रदेशसभाको आज बसेको बैठकले उक्त अध्यादेश स्वीकृत गरेको हो।

‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक बर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ प्रदेशसभाले स्वीकृत गरेको हो।

उक्त अध्यादेश अस्वीकृत गर्न माग गर्दै यसअघि सत्ता गठबन्धन दलमा आबद्ध सांसदहरुले प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए।

उक्त सूचना सांसद नारायणबहादुर बुर्जा मगरले फिर्ता लिएका थिए । सूचना फिर्ता लिएसँगै अध्यादेश स्वीकृत भएको हो।

प्रदेशसभाको बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत भएको छ।

प्रदेशसभाको आजैको बैठकले कर्णालीमा भूकम्पमा परी मृत्यु भएकाहरुको शोकमा शोक प्रस्ताव पारित गरेको थियो।

आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कोशी प्रदेशसभाका सभामुख चयन प्रक्रिया चाँडै थाल्न आग्रह गरेका थिए।

यसैगरी सांसदहरुले भूकम्पबाट प्रभावित बनेकाहरूको उद्धार, राहत र व्यवस्थापनमा गम्भीर भएर लाग्न पनि आग्रह गरेका थिए।

शून्य समयमा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूले आफ्ना क्षेत्रका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण पनि गराएका थिए।

प्रदेशसभाको अर्को बैठक मंगलबार बस्ने सचिवालयले जनाएको छ।

कात्तिक २०, २०८० सोमबार १९:४६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।