टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा

टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले टी-२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रूपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ।

सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रूपैयाँ दिने निर्णय गरेको क्यानका सचिव पारस खड्काले जानकारी दिए।

काठमाडौंमा भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट भएको थियो।

तर, फाइनलमा भने नेपाल ओमानसँग पराजित भएको थियो।

यस्तै बैठकले एसीसी यू-१९ प्रिमियर कप विजेता टोलीका सम्पूर्ण सदस्यलाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय पनि गरेको छ।

बैठकले हङकङमा हुने महिला टी-२० आई सिरिजमा नेपाली राष्ट्रिय महिला टिमले सहभागिता जनाउने निर्णय पनि गरेको खड्काले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।

बैठकले विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीचको खेलमा टिकटबाट उठेको रकमको ५० प्रतिशत रकम जाजरकोटमा गएको भूकम्पबाट प्रभावितहरुलाई सहयोग गर्ने निर्णय पनि गरेको खड्काले बताए।

कात्तिक २०, २०८० सोमबार १८:५८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।