रास्वपाको धन्यवादले मलाई ऊर्जा मिलेको छ : प्रधानमन्त्री प्रचण्ड

रास्वपाको धन्यवादले मलाई ऊर्जा मिलेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीको धन्यवादले आफूलाई थप ऊर्जा मिलेको बताएका छन्।

भूकम्प पीडितको राहत र उद्दारमा सरकारको तदारुकताका लागि धन्यवाद ज्ञापन गर्न आएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको एक प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको धन्यवादले मलाई ऊर्जा मिलेको छ।’

प्रधानमन्त्रीले आफूले रास्वपाले उठाएका सुझावहरू प्रायः मन्त्रिपरिषद् र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणबाट निर्णय गराएको बताए।

उनले भने, ‘अहिले तपाईंहरूले सरकारले लिएको पहलकदमी वा तत्परताका लागि दिनुभएको धन्यवाद आफैँमा पनि सरकारलाई एउटा नयाँ ऊर्जा मिलेको महसुश भएको छ।’

उनले पीडित समक्ष सही समय र ठीक ढङ्गले राहत प्राप्त हुने वातावरण बनोस् भन्नेमा आफूहरू सचेत रहेको बताए।

उनले भने, ‘विगतमा भएका कमीकमजोरी दोहोरिन नदिने र त्यसबाट शिक्षा लिएर पीडितहरूको राहत र उद्दारमा लाग्नेछौँ।’

त्यसको लागि कानूनमा समेत केही संशोधन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री प्रचण्डले पीडितहरूको राहत र पुनर्स्थापनालाई मोडेलको रूपमा अगाडि बढाउनेमा आफूहरू रहेको पनि बताए।

उनले भूकम्प मात्र नभएर अन्य प्राकृतिक विपदाको लागि पनि तयारी अवस्थामा रहन ७७ जिल्लामै एउटा संरचना खडा गर्ने निर्णय गरिएको उल्लेख गरे।

सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभा सदस्य तथा उपसभापति डोर प्रसाद अर्यालले सडक पहुँच नभएकोलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए।

अर्यालले ६ बुँदे सुझावहरू पेश गर्दै प्राप्त विवरण ठीक ठाउँमा पुगे नपुगेको अनुगमन गर्न, चिसोको बेला विशेष ध्यान दिन र राहत र पुनर्स्थापनाका लागि आवश्यक सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

कात्तिक २०, २०८० सोमबार १७:३९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।