जाजरकोट भूकम्प : नौ जिल्लाका तीन हजार आठ सय ८७ घरमा क्षति, कँहा कति?

जाजरकोट भूकम्प : नौ जिल्लाका तीन हजार आठ सय ८७ घरमा क्षति, कँहा कति?

काठमाडौं : शुक्रवार राती ११ : ४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट ११ जिल्ला प्रभावित भएका छन्।

जाजरकोट, रुकुम पश्चिम सबै भन्दा बढी प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ।  त्यस्तै, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्युठानसम्म भूकम्पले क्षति गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ। 

भूकम्पबाट ठूलो मानवीय क्षति हुनुका साथै भौतिक क्षति समेत भएको छ। भूकम्पमा परि हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सबैभन्दा धेरै जाजरकोटका एक सय पाँच जना रहेका छन् भने रुकुम पश्चिमका ५२ जना रहेका छन्। मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको प्रहरीको तथ्याङ्क छ। 

यस्तै, भूकम्पमा परी दुई सय ५६ जना घाइते भएका छन्। घाइते हुनेमा रुकुम पश्चिमका एक सय ३२ जना , जाजरकोटका एक सय १२ जना, जुम्ला, बैतडी र दैलेखका तीन/तीन, सल्यानका दुई र रोल्पाका एक जना रहेका छन्।

भूकम्पले अहिले सम्म जाजरकोट र रुकुम पश्चिम लगायतका प्रभावित जिल्लाहरूमा तीन हजार आठ सय ८७ घरमा क्षति भएको गृह मन्त्रालयले जानकारी दिएको छ। 

जाजरकोटमा तीन हजार ५९० घरमा क्षति भएको छ। जसमध्ये ९०५ घर पूर्ण रुपमा भत्किएका छन् भने दुई हजार ६८५ घरमा आंशिक रुपमा क्षति पुगेको बताइएको छ।

यस्तै, रुकुम पश्चिममा चार हजार एक सय घरमा क्षति पुगेको छ। जसमध्ये दुई हजार घर पूर्ण रुपमा भत्किएको र दुई हजार एक सय घरमा आंशिक क्षति भएको गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ। 

यस्तै, अन्य जिल्लाहरू सल्यानमा २५, रुकुमपूर्वमा ५ र दैलेख तथा बैतडीका केही घरमा पनि क्षति भएको गृहको तथ्यांक छ। 

अहिले भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार तथा खोज कार्यलाई तीव्र बनाएका छन्।

रुकुम पश्चिम र जाजरकोटमा मात्रै उद्धार तथा खोजका लागि नेपाल प्रहरी सात सय ४० जना, सशस्त्र प्रहरी तीन सय ३४ जना तथा दुई सय ६३ जना नेपाली सेना परिचालित गरिएका छन्। 

कात्तिक २०, २०८० सोमबार १४:१७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।