'दिमाग खराब' चलाउने निश्चल-स्वस्तिमा ट्रिक

'दिमाग खराब' चलाउने निश्चल-स्वस्तिमा ट्रिक

काठमाडौँ : कार्यकारी निर्माताका रूपमा सुरज बम ठकुरी निकै भाग्यमानी देखिए। निर्माण टिमले प्रचार गरे अनुसार फिल्म' दिमाग खराब' को एकल लगानी उनको हो। तिहारमा फिल्म रिलिज भएपछि बक्स अफिस कलेक्सन हेरेर उनको' दिमाग खराब' नहोस् भनेर रातदिन मिहिनेत गरिरहेका छन् फिल्मका निर्देशक निश्चल बस्नेत अनि अभिनेत्री स्वस्तिमा खड्का।

प्रेस मिटमा निर्देशक अनि अभिनेत्री आइदिएनन् भनेर निर्माता स्टेजमै भक्कानिनुपर्ने अवस्था भएको नेपालको कला क्षेत्रमा एक निर्माताको लगानीप्रति यति धेरै संवेदनशील भएर रातदिन प्रचारमा हिँडिरहने हिट जोडी पाउने भाग्य कमै निर्माताहरूले पाउँछन्।

फिल्म प्रचारमा प्रयोग हुनसक्ने कुनै संयन्त्र छाडेका छैनन् यी जोडीले। युट्युबदेखि क्रिकेटको मैदानसम्मै दिनरात खटिएको यो जोडीले अब रत्नपार्कमा मञ्च बनाएर फिल्म दिमाग खराब कस्तो फिल्म हो भनेर प्रचार गर्न मात्र बाँकी छ।

के यी निर्देशक र अभिनेत्री मात्राको भूमिकामा रहँदा पनि यति धेरै फिल्मको चिन्ता गर्दै प्रचारमा सक्रिय भएका होलान् त?

यसमा भने हल्का शङ्का छ। यसका केही कारण छन्। यो फिल्म सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्स मिलेर बनाएका हुन्। ब्ल्याक हर्स निश्चल बस्नेतको कम्पनी हो। प्रचारमा निश्चलले आफूलाई निर्देशकको रूपमा मात्र प्रस्तुत गरे पनि उनी यो फिल्मको बिजनेस पाट्नर पनि हुन् भन्ने यसैले देखाउँछ।

अर्को पछिल्लो समय अलि गतिलै कमाई गर्ने सम्भावना देखिएका फिल्मका निर्देशकदेखि कलाकारसम्मले पारिश्रमिकबापत थोरै 'टोकन मनि' लिएर नाफाको हिस्सेदारीमा बस्ने गलत परम्परा बढ्दो छ नेपाली फिल्म क्षेत्रमा।

लगानीकर्ताको ध्यान लगानी उठाउनेमा हुनु स्वाभाविकै हो। लगानीकर्ताको लगानीको सुरक्षा गर्न निर्देशक अनि कलाकारसहितको निर्माण टिमले इमानदार प्रयास गर्ने हो।

भएको सम्झौता अनुसार प्रमोसनमा हिँड्नु उनीहरूको जिम्मेवारी हो। तर लगानीकर्ताको लगानी उठाइदिने जिम्मेवारी उनीहरूको हैन।

जब उनीहरू पनि निर्माता जस्तै फिल्मको नाफा-घाटामा प्रत्यक्ष जोडिन्छन् अनि व्यापारमा पनि ध्यान जानु स्वाभाविकै हो। यसले निर्देशक अनि कलाकारहरू दर्शकमाझ फिल्म भिजाएर हलसम्म आउने वातावरण बनाउन मात्र हैन कि कमजोर फिल्मलाई पनि वाह गजब बनेको छ भनेर दर्शकलाई भ्रममै पारेर भए पनि फिल्मलाई नाफामा लैजान केन्द्रित हुनु स्वाभाविकै हो।

यो भनेको चैं सिधै दर्शकलाई ढाँट्ने काम हो। जब लगानीकर्ताहरू समेत निर्देशक वा कलाकार मात्रै हुँ झैँ जसरी प्रचारमा आउँछन् दर्शकले उनीहरूलाई त्यही रूपमा बुझ्छन्, विश्वास गर्छन्।

मैले निर्देशन वा अभिनय पनि गरेको छु अनि लगानी पनि छ है भन्ने हो भने दर्शकले कतै आफ्नै लगानी सुरक्षित गर्न कमसल माल पनि अति राम्रो भनेर हामीलाई मूर्ख बनाउने प्रयास त भएको छैन भनेर सोच्न सक्छन्।

यसैमा चलाखी गर्दै जो निर्देशक वा कलाकार फिल्मको सेयरमा बसेका हुन्छन् उनीहरूले त्यो पक्ष सिधै ढाँट्छन्। फिल्म 'दिमाग खराब'को प्रचारमा पनि निश्चलले यही ट्रिक अपनाएका त हैनन्!

कात्तिक २०, २०८० सोमबार १४:१२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।