नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्री महतको आह्वान
काठमाडौं : अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै निर्धक्कसँग लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गरेका छन्।
एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिससंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) को संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने ३७ औँ क्यासी सम्मेलनलाई सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना भएको बताए।
नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई निजी क्षेत्रका छाता संगठनले समेत सहयोग गर्ने भएकाले ढुक्कले लगानी गर्न विदेशी उद्यमी तथा व्यवसायीलाई डा. महतले आग्रह गरे।
नेपालमा व्यावसायिक अवसर धेरै भएको भन्दै विदेशी लगानीकर्ताले प्रतिफल प्राप्त गर्न सक्ने उनको भनाइ थियो।भूकम्प र कोरोना महामारीबाट उठ्दै गरेको नेपाललाई यस किसिमको भेलाले सहयोग उनको धारणा थियो।
डा. महतले भने, ‘नेपालमा गरिएको लगानीको भविष्य उज्ज्वल रहेको छ जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्।’
उनले भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रतिबद्धता गरेको भन्दै लगानीका लागि जलविद्युत उपयुक्त क्षेत्र भएको बताए।
यस्तै सूचना र प्रविधि क्षेत्रमा समेत सरकारले लगानीको सम्भावना देखेको बताउँदै भने, ‘यही सम्भावना देखेर चालू वर्षको बजेटमार्फत सूचना प्रविधि क्षेत्रमा आयकर घटाएको हो।’
नेपालमा लगानी गर्नलाई ‘वान डोर विन्डो’ सञ्चालनमा रहेको र ठुला लगानीलाई सहयोग गर्न लगानी बोर्ड नै सञ्चालनमा रहेको महतले बताए।
नेपालमा लगानीका लागि थप वातावरण र कन्फिडेन्स सिर्जना गर्न आगामी फेब्रुअरीमा लगानी सम्मेलन आयोजनाका लागि सरकार जुटेको जानकारी दिदै महतले भने, ‘ विश्व बैंक र एडिबीले नेपालका दुई जलविद्युत आयोजनामा लगानीको तयारी गरिरहेका छन्। यसबाट नेपाल लगानीको केन्द्र रहेको पुष्टि हुन्छ। ग्रीन बन्डलगायतमा फाइनान्सिङ औजारहरुमा समेत लगानी गर्न मिल्ने गरि नेपाल सरकार अघि बढेको छ।’
कात्तिक २०, २०८० सोमबार १३:३३:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।