बक्यौता नतिरेपछि भौतिक मन्त्रालयको बिजुली काटियो

बक्यौता नतिरेपछि भौतिक मन्त्रालयको बिजुली काटियो

काठमाडौं :  विद्युत महसुल नतिरेपछि नेपाल विद्युतु प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बिजुली काटिदिएको छ। 

दुई महिनासम्मको बक्यौता नतिरेपछि मन्त्रालयको बिजुली काटिएको पोखरा वितरण केन्द्रले जानकारी दिएको छ। 

मन्त्रालयले २७ हजार ६५ रूपैयाँ बक्यौता तिर्न बाँकी रहेको वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले जानकारी दिए।

बिजुली काटिएपनि मन्त्रालयमा समस्या नभएको मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले बताए। 

‘हाम्रोमा दुईवटा फेज छ। तीन फेजमा गएपछि हामीले दुई फेज डिस्कनेक्ट गरेका थिएनौं, त्यसकै बाँकी रहेछ,’ उनले भने।

पछिल्लो समय केन्द्रले महसुल बुझाउन अटेर गर्ने, ६० दिनभन्दा बढी बक्यौता भएको ग्राहकको लाइन काटी महसुल संकलन गर्ने कामलाई तीव्र पारेको छ । 

कात्तिक २०, २०८० सोमबार १३:१३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।