जाजरकोट भूकम्प प्रभावितलाई सिटी एक्सप्रेस ग्रूपले २५ लाख दिने
काठमाण्डौ : सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावित भएकाहरूको लागि २५ लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
सिटी एक्सप्रेसले भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने बताएको छ।
गत शुक्रबार राति कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ।
सिटी एक्सप्रेसले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको स्वास्थ लाभको लागि कामना पनि गरेको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै उसले ट्रान्सफरले सिटी पे वालेटमार्फत् अनलाइन भुक्तानीको सेवा पनि सुचारु गरेको छ।
कात्तिक २०, २०८० सोमबार १२:५४:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।