जाजरकोट भूकम्प : मृतक एक सय ५७ मध्ये ७८ जना बालबालिका

जाजरकोट भूकम्प : मृतक एक सय ५७ मध्ये ७८ जना बालबालिका

काठमाडौं : जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु भएकामध्ये आधा बालबालिका रहेको पाइएको छ। 

प्रहरीको केन्द्रीय कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार भूकम्पबाट मृत्यु भएका एक सय ५७ मध्ये ७८ जना बालबालिका रहेका छन्। 

जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए। 

रोकाका अनुसार दुवै जिल्लामा गरी मृत्यु हुने झण्डै आधा बालबालिका रहेका छन्। जाजरकोटमा मृत्यु भएका एक सय पाँच मध्ये बालक २७  र बालिका २३ जना रहेका रोकाले बताए। 

रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिकाले रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराईले जानकारी दिए। 

भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार जाजरकोटमा मृत्यु भएका एक सय पाँचमध्ये ५०, ३३ जना महिला र १८ जना पुरुषको मृत्यु भएको जनाइएको छ। रुकुम पश्चिममा १६ महिला र आठ जना पुरुषको मृत्यु भएको छ । 

कात्तिक २०, २०८० सोमबार १२:०२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।