जाजरकोट भूकम्प (अपडेट) : मृतकको शव परिवारलाई बुझाइयो, नौ सय १० घर पूर्ण क्षति

जाजरकोट भूकम्प (अपडेट) : मृतकको शव परिवारलाई बुझाइयो, नौ सय १० घर पूर्ण क्षति
फाइल फोटो

काठमाडौं : जाजरकोट केनद्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु भएका एक सय ५७ जनाका शव सनाखत गरी आफन्तलाई बुझाइएको छ।

मृतकको शव आफन्तलाई बुझाइएको गृह मन्त्रालयले जानकारी दिएको छ। 

भूकम्प प्रभावितकाे खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेका जानकारी दिँदै घाइतेहरू उपचारपछि घर फर्कन थालेका मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। 

उनका अनुसा भूकम्पमा परी ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ।  मृत्यु हुनेमा जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी एक सय पाँच तथा रुकुम पश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जना रहेका छन्।

घाइते दुई सय ५६ मध्ये एक सय ४६ जना उपचारपछि घर फर्किएका छन् भने एक सय १० जना उपचाररत छन्।

यसैबीच, प्रहरी प्रधान कार्यालयले भौतिक क्षतिको विवरण समेत संकलन गर्न थालेको छ।

कार्यालयका अनुसार जाजरकोट भूकम्पमा अहिलेसम्म नौ सय १० वटा घरमा पूर्ण क्षति भएको छ भने दुई हजार आठ सय ६१ घरमा आंशिक क्षति भएको छ।

शुक्रवार राती ११ : ४७ मा जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएपछि विपद् आइलाग्यो जाजरकोटवासीलाई। अधिकांश घर भग्नावशेष भएका छन्। ठडिएका केही पनि बस्न लायक छैनन्।

जिल्ला प्रशासन कार्यालय जाजरकोटको प्रारम्भिक तथ्याङ्कअनुसार भूकम्पबाट जाजरकोटमा मात्रै तीन हजार ६५० घरमा क्षति पुगेको छ। ९ सय ५ घर पूर्ण रुपले क्षति भएका छन्।

कात्तिक २०, २०८० सोमबार ०७:४०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।