मधेसका कलाकार : अभिनयमा अब्बल तर भूमिका किन बिचरा ?
काठमाडौँ : भदौमा प्रदर्शन भएको फिल्म ‘एक भागवत एक गीता’ को कथाको मुलथलो मधेस बनाइयो। तर कलाकारहरूमा गैर मधेस छानियो। विपिन कार्की र सुहाना थापा मुख्य भूमिकामा देखिए फिल्ममा। जनकपुर आसपासमा बोलिने मैथिली भाषाको प्रयोग गरियो फिल्ममा।
अभिनयका हिसाबमा विपिन र सुहानाले ठिकै गरे पनि संवाद भने प्राकृतिक सुनिएन। उनीहरू मैथिली भाषामा अभ्यस्त हैनन्। फिल्मको क्यारेक्टरपछि गतिलो अभ्यास पनि गरेको देखिएन।
त्यहाँको भूगोल अनुसारको बोल्ने शैली नभएको भन्दै दुवैको आलोचना भयो। नेपाली कला क्षेत्रमा मैथिली अनि भोजपुरी भाषामा बलियो पकड भएका कलाकार नभएका हैनन्। तर उनीहरूलाई निर्देशकले महत्त्व दिएनन्।
‘फिल्मको कथाले माग्ने भूगोल अनुसारका दक्ष कलाकार भए पनि भूगोल र भाषाबारे जानकार कलाकारले मौका नपाउने गरेको कलाकार कामेश्वर चौरसियाको टिप्पणी छ।
‘एक भागवत, एक गीता’ले खोजेको ‘कमलामाई’को क्यारेक्टर भन्दा विपिनको अभिनय फरक रहेको उनको तर्क छ।
नेपाली फिल्ममा मधेस, हिमाल लगायतका भूगोलको कथामा गैर भूगोलको कलाकारले अभिनय गर्नु सामान्य हो। भेषभुषाले उनीहरूले फरक भूगोलको प्रतिनिधित्व गरेजस्तो देखिन्छ फिल्ममा। तर न शारीरिक हाउभाउ मिल्छ न बोली।
हिजोका दिनमा फरक भूगोलका कलाकार सहायक कलाकारका रूपमा फिल्ममा अनुबन्ध हुन्थे। मुख्य कलाकारमा पहाडे समुदायकै बाहुल्यता थियो। समाजका विविध पात्र समेट्नेक्रममा मधेस अनि जनजाति समूहका कलाकारहरूले मौका पाउँथे। अधिकांश कथानकको भूगोल त्यही अनुसार हुन्थ्यो।
बिस्तारै कला क्षेत्रमा फरक भूगोल र फरक जातीको कथाको प्रवेश भयो। कथामा विविधता आयो तर त्यही रुपमा पात्र चयनमा विविधता आउन सकेन।
केही नयाँ निर्देशक अनि निर्माताले प्रयास गरेका छन्। यसले बिस्तारै एकल जातीको वर्चस्व भत्कँदै गएको देखिन्छ। त्यो भत्काउने कामको नेतृत्व फरक भूगोलका निर्माता र निर्देशकले गरेका छन्।
उनीहरूले आफू जानकार भएको भूगोलको कथालाई पर्दामा ल्याउँदा कलाकार पनि सम्बन्धित भुगोलकैलाई प्राथमिकता दिए। जस्तो रामबाबु गुरुङ।
उनी निर्माता रहेको फिल्म ‘जारी’को कथानकको परिवेश अनुसार दयाहाङ राई र मिरुना मगरलाई नलिएर गैर जनजाति कलाकार लिएको भए कमजोर हुँदाहुँदै फिल्मले दर्शकलाई प्रभाव पार्न सफल हुन्थ्यो?
नेपाली कला क्षेत्रमा मधेसको कथा र पात्र समेटिन थालेको त लामै समय भइसक्यो। तर विडम्बना जसरी हिमाली भेगको कथानकमा फिट हुने कलाकारले मौका पाएका छन् मधेसको कथामा त्यस्तो हुन सकेको छैन।
अभिनयमा अब्बल भए पनि मधेसका कलाकारहरूले चरित्र चित्रण गरियो भने पनि हाँस्यपात्र, विचरापात्रमा बढी केन्द्रित देखिन्छ। हिजो मधेसको कलाकारलाई 'खाली सिसी' खोज्ने चरित्र दिइन्थ्यो। विचमा कपाल काट्ने हजामको भुमिका दिन थालियो।
आक्कलझुक्कल गैर मधेसको चरित्रमा लिडरोल नपाएका हैनन्। तर एकाध फिल्ममा नजमेकै आधारमा त्यसपछि उनीहरू दोहोरिन छाडे। अहिले पनि मधेसको कथामा बलियो पात्रको निर्माण भइरहेका छन् तर मौका गैर मधेसी कलाकारले पाइरहेका छन्।
१५ वर्ष अघि बनेको फिल्म ‘लुट’मा सौगात मल्लले काठमाडौँको नेवारी समुदायको पात्रको प्रतिनिधि बनेर दर्शकमाझ आफ्नो पहिचान बनाए। उनी विभिन्न फिल्ममा मधेसको पात्र बनेका छन्। जुन लुट जस्तो प्रभावकारी हुन सकेन।
फिल्म ‘षडङ’मा मधेसी पात्र बनेका उनी ‘लुकामारी’मा थारु लवजमा देखिए। ‘संरक्षण’ मधेसको पात्र बनेका उनी ‘भस्मे डन’ मा मधेसको पात्र बने। उनको पात्र मधेसको थियो। उनले नवलपरासीमा बोलिने स्थानीय लवजको प्रयोग गरेका थिए।
काठमाडौँको कथानकमा मधेसको पात्रको सङ्घर्ष एक हदसम्म कथानकमा फिट भयो। अन्य फिल्मको क्यारेक्टरमा लाउडदेखिने उनी भष्मे डनमा सम्हालिँदा यो चरित्रलाई सौगातको कम ब्याकको रूपमा लिइयो। तर सौगात बराबरको अभिनय गर्न सक्ने मधेसी समुदायकै कलाकारको अभावै भने थिएन।
रमेशरञ्जन झा, रामेश्वर चौरसिया, रवीन्द्र झा,प्रमोद अग्रहरी, नाजिर हुसैनमध्ये पनि चरित्रमा न्याय गर्न सक्थे नै।
कलाकार रामेश्वर चौरसिया सिनेमा लेख्ने बेलामा नै कुन कलाकार फिट हुन्छन् या हुँदैनन् भन्ने लेखकले अनुमान लगाइसक्ने भएकाले यस्तो समस्या देखिएको बताउँछन्।
‘लेखकले लेख्ने बेलामा नै पात्र कसलाई राख्ने भनेर छनौट भइसकेको हुन्छ। कथाले मागे अनुसार हैन चयन भएका कलाकारलाई फिट हुनेगरी कथानक अगाडि बढाइन्छ,’उनले भने।
कामेश्वरका अनुसार सौगातले भष्मे डनमा बोलेको लवज अवधि भाषाको हो। सौगात मधेसमै हुर्किएकाले मधेसको पात्रमा राम्रो अभिनय गर्न सक्ने कलाकार भएको उनले बताए। भष्मे डनमा सौगात मधेसी पात्रमा देखिएपछि आफू पनि यो फिल्ममा जोडिन पाएको भए हुने भन्ने लागेको रहेछ उनलाई।
‘मेरो नाम पनि कतिपय फिल्ममा आयो होला या आएन थाहा छैन,’उनले भने,‘फिल्म ‘भस्मे डन’ दोस्रो भाग बनेको फिल्म हो। यो फिल्मको पहिलो भागको जसरी चर्चा चुलियो यसको दोस्रो भागमा जोडिन धेरैको चाहना हुनु स्वाभाविक हो। मेरो पनि थियो।’
कथाको परिवेश अनुसारको पात्र चयन गर्ने हो भने फिल्म पनि राम्रो बन्ने अनि सम्बन्धित भूगोलमा पनि नेपाली सिनेमा लोकप्रिय हुने उनको मत छ।
‘जुन पात्रले फिल्ममा प्रतिनिधित्व गरेको छ त्यही भूगोलको लिए राम्रो हो। यसले कथानकमाथि न्याय पनि हुन्छ अनि सम्बन्धित भूगोलमा फिल्म पनि भिज्छ’ उनले भने।
मधेसको कथा र पात्रमा गैर मधेसीलाई किन प्राथमिकता भन्ने प्रश्न उठ्यो भने निर्णायक तहमा रहेका निर्देशकहरूको जवाफ' थर हैन अभिनय हेर्ने हो' भन्ने नै आउँछ। तर यो कमजोरी लुकाउने बलियो अस्त्र मात्र हो।
फिल्म ‘पशुपति प्रसाद २ : भस्मे डन’निर्देशन गरेका दीपेन्द्र के खनालले फिल्ममा देखिएका सौगात मधेसकै भएकाले सुहाउँदो रोल दिएको बताए।
‘सौगात मल्ल पनि मधेसी नै हुन्। मधेसी भन्ने बित्तिकै यादव,चौरासिया लगायतै हुनुपर्छ भन्ने हुन्न,’ उनले भने’ मधेसमा बस्ने जातजाति मधेसी नै हो। सौगात त पियोर मधेसी हो। उनको घर नै भित्री मधेसमा छ।‘
मधेसी भनेको यस्तो उस्तो हुनुपर्छ भन्ने हो भने यसले विभाजन ल्याउने उनको तर्क छ।
अर्का फिल्म निर्देशक दीपेन्द्र लामा भौगोलिक हिसाबले कलाकारले अभिनय मिलेको भए फरक नपर्ने बताउँछन्।
‘यो ठुलो इस्यु चाहिँ होइन। क्यारिकेचरको रूपमा अभिनय गर्दा समस्या भएन। मुख्य कुरा दर्शक क्यारेक्टरमा कन्भिन्स हुनुपर्यो,’उनले भने,‘ पर्दामा क्यारेक्टरलाई कसरी उतार्छ भन्ने कुरा नै मुख्य हो। कुन कलाकारले के खेल्छ भन्ने कुरा ठुलो भएन।’
उनी एउटा समुदायको कलाकारलाई अर्को समुदायको पात्रमा अभिनय गराउनु निर्देशक निर्माताले नै जोखिम मोलेको रूपमा अर्थ्याए।
‘अब कसैले गैर मधेसीलाई मधेसीको क्यारेक्टरमा अभिनय गराउनु गलत हैन तर मधेसीको अपमान हुने या ग्लानि महसुस हुने क्यारेक्टर बनाउनु भएन’ उनले भने।
कात्तिक १९, २०८० आइतबार १८:४७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।