सशस्त्रद्वारा टेन्ट र पालसहित तीनवटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर भुकम्प प्रभाबित क्षेत्र पठाइयो

सशस्त्रद्वारा टेन्ट र पालसहित तीनवटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर भुकम्प प्रभाबित क्षेत्र पठाइयो
फाइल फोटो

काठमाडौ : जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पका पीडितहरुको लागि सशस्त्र प्रहरी बल नेपालको तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर टेन्ट र पालसहित प्रभावित क्षेत्र पठाइएको छ। 

सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आइतबार बिहान पौने ४ बजे पश्चिम रुकुमको लागि हिँडेको बताइएको छ।  

काठमाडौं उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको ७ सय थान टेन्ट र गुहेश्वरी गणमा भक्तपुरमा रहेको १० हजार पाल लिएर ३ वटा कन्टेनर त्यसतर्फ गएका हुन्। 

यसअघि भूकम्प पीडितहरुको लागि आवश्यक सामग्रीसहित दाङबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर पठाई सकेको छ। 

आज पनि भुकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बलले उद्धार कार्य जारी राखेको छ।

कात्तिक १९, २०८० आइतबार १०:०५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।