रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा खोजी र उद्धार सकियो, ५२ जनाको मृत्यु
रुकुम पश्चिम : भूकम्पबाट प्रभावित रुकुम पश्चिममा भूकम्पपीडितको उद्धार सकिएको स्थानीय प्रशासनले जानकारी दिएको छ।
शुक्रवार रातिदेखि नै सुरु भएको खोजी तथा उद्धारको काम शनिवार बेलुका सकिएको हो। भुईँचालोबाट आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिका क्षेत्र बढी प्रभावित भएको छ।
आठबीसकोट नगरपालिकाको वडा नम्बर ११, १२, १३ र १४ तथा सानीभेरी गाउँपालिका–२ मा ठुलो मानवीय क्षति भएको थियो।
आठबीसकोटमा भूकम्पका कारण ४२ र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको छ। एक सय ७४ जना घाइते भएका छन्।
भूकम्पबाट घाइते भएका २७ जनाको हेलिकप्टरबाट उद्धार गरी नेपालगन्ज, प्रादेशिक अस्पताल सुर्खेत र काठमाडौँ पठाएको थियो। अन्य २६ जनाको भने जिल्ला अस्पताल सल्ले र नगर अस्पताल राडीमा उपचार भइरहेको छ।
भूकम्पका कारण जिल्लाभरमा ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्का बताएका छन्।
खड्काका अनुसार ५२ जनाको शव परीक्षणमा रहेकाले परिवारलाई हस्तान्तरण भएको छैन।
कात्तिक १८, २०८० शनिबार २३:३७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।