चौधरी फाउन्डेसनले भूकम्प पीडितलाई चाउचाउ बाँड्ने

चौधरी फाउन्डेसनले भूकम्प पीडितलाई चाउचाउ बाँड्ने

काठमाडौँ : जाजरकोटमा गएको भूकम्पबाट घरबारहीन भएका पीडितहरूलाई चौधरी समूहले चाउचाउ लगायतका खाद्य सामाग्री र त्रिपाल बाँड्ने भएको छ।

राहतलाई सरकारले एकद्वारबाट बाँड्ने निर्णय गरे पनि चौधरी समूह चाउचाउसहितको सामाग्री लिएर सिधै जाजरकोट जाने भएको हो।

सरकारले सुर्खेतलाई केन्द्र तोकेर खोज, उद्धार र राहत त्यहीबाट एकद्वार नीतिबाट परिचालन गर्ने निर्णय गरेको थियो।

नेपाली काँग्रेसका सांसद समेत रहेका तथा चौधरी समूहका प्रमुख विनोद चौधरीले सामाजिक सञ्जालबाट दिएको जानकारी अनुसार चौधरी फाउन्डेसनको टिम जाजरकोट पुगेर खाद्यान्न वितरण सुरु गरिसकेको छ। भोली (आइतबार) खाद्यान्न, त्रिपाल, ब्लाङ्केट लगायतका सामाग्री भूकम्प प्रभावितहरूसमक्ष पुर्याउने तयारी रहेको उनले उल्लेख गरेका छन्।

राहत सामाग्रीसँगै फाउन्डेसनको उच्चस्तरीय टिम जाजरकोट पुग्ने र स्थानीय प्रशासनसँग समन्वय गर्दै भूकम्प प्रभावितलाई राहत दिने उनले लेखेका छन्।

सोही समूहका निर्वाण चौधरीले चाउचाउ र पानीले भरिएको राहतको गाडीको तस्बिर सार्वजनिक गर्दै अत्यावश्यक खाना वितरण सुरु भइसकेको उल्लेख गरेका छन्।

कात्तिक १८, २०८० शनिबार २३:२३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।