भूकम्पपछि खोज, उद्धार र राहतमा के-के गर्यो सरकारले ?
काठमाडौँ : गृह मन्त्रालयका अनुसार शुक्रवार मध्यरात जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट एक सय ५७ जनाको मृत्यु भएको छ भने तीन सय ७५ जना घाइते भएका छन्।
घटनाबाट निजी घरसँगै सरकारी संरचनाहरूमा समेत क्षति पुगेको छ। सामान्य घाइतेहरूको उपचार स्थानीय तथा जिल्ला अस्पतालमा भइरहेको र गम्भीर घाइतेहरूलाई हवाई उद्धार गरी काठमाडौँ, सुर्खेत र नेपालगन्ज पुर्याएर
उपचार भइरहेको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन्।
मध्यरात शक्तिशाली भूकम्प गए लगत्तै शनिवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चिकित्सक, स्वास्थ्यकर्मी र अत्यावश्यक औषधी र राहत सामग्री सहित प्रभावित जिल्लाको स्थलगत अवलोकनका लागि गएका थिए।
सरोकारवाला निकायहरूलाई तत्काल खोज, उद्धार र राहत व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएर उनी काठमाडौँ फर्किए।
यता काठमाडौँमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मुख्य सचिवसहित विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख र सरोकारवाला निकायका प्रतिनिधिसहितको आकस्मिक बैठक बसेको थियो।
बैठकले घटनाको वस्तुस्थितिहरूको विश्लेषण, खोज उद्धार तथा राहतमा भएका काम र प्रभावको समीक्षा गरेको भट्टराइले जानकारी दिएका छन्।
राहतमा एकद्वार
खोज तथा उद्धार कार्य र राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिमार्फत एकद्वार प्रणालीबाट परिचालन गर्ने, जाजरकोट र रुकुम पश्चिमका जिल्ला विपद् व्यवस्थापन कोषमा ५/५ करोड रुपैयाँ तत्काल पठाउने, खोज उद्धार तथा शव व्यवस्थापनको विशेष तालिम प्राप्त टोली प्रभावित स्थलमा पठाउने, भूकम्पका कारण अवरुद्ध भएका सडक तत्काल खुलाउन आवश्यक व्यवस्था मिलाउने समेत निर्णय भएको थियो।
बैठकले विपद् व्यवस्थापन कार्यमा सहयोगका लागि मित्रराष्ट्र तथा विदेशी नियोगबाट प्राप्त भएका सद्भावयुक्त प्रस्तावका लागि धन्यवाद दिँदै क्षतिका आधारमा आवश्यक परेमा पछि अनुरोध गरिने निर्णय समेत गरेको थियो।
खोज र राहतका लागि सुर्खेत केन्द्र
भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा खोज, उद्धार तथा घाइतेको उपचार कार्यलाई पहिलो प्राथमिकता दिने, स्थानीय अस्पतालहरूमा उपचार भइरहेका घाइतेको उपचारलाई प्रभावकारी बनाउन आवश्यक विशेषज्ञ चिकित्सक सहितका जनशक्ति, अत्यावश्यक औषधि र उपकरण छिटो प्रभावित क्षेत्रमा पुर्याउने, थप उपचारका लागि सुर्खेत, नेपालगन्ज र काठमाडौँमा स्वास्थ्य जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरेको थियो।
तत्काल राहत व्यवस्थापनका लागि खाद्यान्न र अस्थायी आवास (टेन्ट, त्रिपाल, कम्बल, म्याट्रेस, स्लीपिङ ब्याग आदी) सामग्री प्रभावित जिल्लामा पठाउने र खोज, उद्धार, उपचार र समन्वयका लागि सुर्खेतलाई मुख्य र नेपालगन्जलाई सहायक केन्द्र तोकेर साधनश्रोत परिचालन गर्ने निर्णय गरेको थियो।
खोज र उद्धारमा सशस्त्रको विशेष टोली
भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सरकारले नेपाली सेना, नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीको विशेष तालिमप्राप्त टोली पठाएको छ।
सशस्त्रमा विपद्मा परिचालन गर्न विशेष तालिम प्राप्त जनशक्ति छ। २०७२ को भूकम्पमा सशस्त्रको तालिमप्राप्त टोलीले प्रभावकारी काम गरेको थियो।
तत्काल द्रुत लेखाजोखाका लागि नेपाल रेडक्रसले जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वयमा तालिम प्राप्त जनशक्ति खटाउने निर्णय समेत गरेको छ।
कात्तिक १८, २०८० शनिबार २०:४६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।