मौसमविदले भने- भूकम्प प्रभावित क्षेत्रमा वर्षाको सम्भावना छैन

मौसमविदले भने- भूकम्प प्रभावित क्षेत्रमा वर्षाको सम्भावना छैन

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा वर्षाको सम्भावना नरहेको जनाएको छ। 

भूकम्प प्रभावित क्षेत्रमा दुई-तीन दिनसम्म बादल लागे पनि तत्काल पानी नपर्ने मौसमविद गोविन्द झाले जानकारी दिए।

राति बादल कम हुने र दिउँसोतिर बढ्ने भन्दै उनले रुकुम पश्चिम र जाजरकोटमा पानी पर्ने र हिमपात हुने सम्भावना नरहेको बताए।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ।

मध्य र पूर्वी नेपालका केही जिल्लाहरूमा भने बदली र हल्का वर्षा भएको छ । पछिल्लो एक घण्टामा संखुवासभा, खोटाङ, दोलखा, सिन्धुपाल्चोक, लम्जुङ र म्याग्दी तथा ती जिल्लाका आसपासमा हल्का वर्षा भएको मौसमविद झाले जानकारी दिए ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा रुकुम पश्चिम र जाजरकोटमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ । 

कात्तिक १८, २०८० शनिबार १७:१४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।