अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्री र गभर्नरको एकै दाबी' सकारात्मक बाटोमा अघि बढ्यो'

अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्री र गभर्नरको एकै दाबी' सकारात्मक बाटोमा अघि बढ्यो'

काठमाडौँ : अर्थतन्त्रको अवस्थाबारे फरक-फरक धारणा राख्दै आएका अर्थमन्त्री डा प्रकाशशरण महत र गभर्नर महाप्रसाद अधिकारीले एकै मञ्चबाट अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढेको दाबी गरेका छन्।

शनिवार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै दुवैले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको दाबी गरेका हुन्।

अर्थमन्त्री महतले देशको अर्थतन्त्र बिस्तारै सकारात्मकतर्फ उन्मुख रहेको र सबैले नकारात्मक कुरा गरेर लगानीकर्ता निरुत्साहित र उपभोक्तामा द्विविधा सिर्जना गर्नुको सट्टा अब सकारात्मक सोचको आवश्यकता रहेको बताएका थिए।   

उनले अर्थतन्त्र लयमा रहेको र अब चलायमान बनाएर दिगो हिसाबले आर्थिक वृद्धि गर्दै आम नागरिकको पहुँचमा पुर्याइनुपर्ने आवश्यकता रहेको बताएका थिए।

'नेपालका सन्दर्भमा बाह्य सूचकाङ्क राम्रो छ, राजस्व पनि अघिल्लो वर्षको तुलनामा बढेको,' उनले भने' घरजग्गा कारोबार बढेको छ। विप्रेषण पनि बढिरहेको छ। विदेशी पर्यटक आगमन पनि ऐतिहासिकरुपले बढेकाले आर्थिक गतिविधि चलायमान गर्न मद्दत गर्ने विश्वास छ।'

अर्थमन्त्री डा महतले विश्व बैङ्क, एसियाली बैङ्कलगायत दातृ निकायलाई नेपालको आर्थिक विकासमा सहभागी हुन पहलकदमी गरिएको र आगामी दिनमा थप लगानी भित्रने बताएका थिए।

सोही कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेको बताएका थिए।

विदेशी मुद्रा सञ्चिति राम्रो रहेको र अर्थतन्त्रका अन्य क्षेत्रहरूमा सकारात्मक रहेको उनको दाबी थियो।

अधिकारीले सरकार र निजी क्षेत्रको साझेदारीमा ठुला परियोजना अघि बढाउन जरुरी रहेको भन्दै फलाम खानी उत्खनन्, ठुला सडक निर्माणलगायत उद्योग परियोजना अघि बढाउनुपर्ने धारणा राखेका थिए।

राजस्व सुधारको दिशामा रहेको, आन्तरिक ऋण उठिरहेको, बैङ्क तथा वित्तीय संस्थामा निजी क्षेत्र पर्याप्त मात्रामा रहेको र पर्यटक उल्लेख्य बढेकाले आर्थिक वृद्धिमा टेवा पुग्ने उनले बताएका थिए।

कात्तिक १८, २०८० शनिबार १४:२६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।