भूकम्प प्रभावित सात जिल्लामा खोजी र उद्धारमा विशेष टोली, सेनाको स्काइ ट्रकबाट राहत

भूकम्प प्रभावित सात जिल्लामा खोजी र उद्धारमा विशेष टोली, सेनाको स्काइ ट्रकबाट राहत

काठमाडौँ : भूकम्प प्रभावित सात जिल्लामा सरकारले विशेष खोजी र उद्धार टोली परिचालन गरेको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बसेको सरोकारवाला मन्त्रालयको बैठकले पाँच जिल्लामा विशेष टोली पठाउने निर्णय गरेको हो।

गृह मन्त्रालयमा बसेको बैठकमा स्वास्थ्य, परराष्ट्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी उपस्थित थिए।

बैठकमा मन्त्री श्रेष्ठले उद्धार, राहत तथा खोजीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए।

गृहका प्रवक्ता नारायण भट्टराईका अनुसार भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत प्रारम्भिक राहत सामग्री पठाइएको छ। सेना, प्रहरी र सशस्त्र प्रहरी बलको टोली जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, रोल्पा, सुर्खेत, बाँके र दाङमा खटिएका छन्।

भूकम्प प्रभावित क्षेत्रमा सुरक्षा निकायको स्थानीय मेडिकल टिमसँगै सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र सैनिक अस्पतालबाट ११ जनाको मेडिकल टोली बिहानै स्काइ ट्रकमार्फत प्रभावित क्षेत्रमा पुगेको उनले जानकारी दिए।

शुक्रवार मध्यरात जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो।

कात्तिक १८, २०८० शनिबार १२:५०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।