भूकम्पका घाइतेको नि: शुल्क उपचार गर्ने सरकारको निर्णय, गम्भिरलाई हेलिकप्टरबाट उद्धार

भूकम्पका घाइतेको नि: शुल्क उपचार गर्ने सरकारको निर्णय, गम्भिरलाई हेलिकप्टरबाट  उद्धार
खोजी र उद्धारमा खटिएको नेपाली सेना।

काठमाडौँ : सरकारले भूकम्पमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ। शुक्रवार मध्यरात जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितहरूको उपचारमा स्वास्थ्यकर्मी पठाउँदै सरकारले उद्धार भएका घाइतेहरूको नि : शुल्क उपचार गर्ने निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले घाइतेहरूको उपचारका लागि स्वास्थ्यकर्मीहरूको टोली घटनास्थल पठाइसकिएको जानकारी दिए। उनका अनुसार आवश्यकताअनुसार थप उपचारका लागि औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा छन्।

प्राथमिक उपचार आवश्यक भए सम्बन्धित स्थानमै उपचार गर्ने र थप उपचार आवश्यक देखिएकाहरूलाई हेलिकप्टरबाट अस्पताल ल्याएर उपचार गर्ने तयारी भइसकेको उनले जानकारी दिए।

शुक्रवार राति गएको भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा १ सय २८ बढीको मृत्यु भइसकेको छ। १ सय ४०  जना बढी घाइते छन्। 

खोजी र उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी तथा उद्धारसँगै उपचारका लागि चिकित्सकीय टोली समेत परिचालन गरेको छ।

शुक्रवार राति ११ : ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४  म्याग्चिच्युडको भूकम्प गएको थियो।

कात्तिक १८, २०८० शनिबार १२:२८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।