इजरायलमा मारिएका थप तीन विद्यार्थीको शव नेपाल आइपुग्यो

इजरायलमा मारिएका थप तीन विद्यार्थीको शव नेपाल आइपुग्यो

काठमाडौं : इजरायलमा प्यलेस्टाइनी समूह हमासको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीन  जनाको शव नेपाल आइपुगेको छ।

फ्लाइ दुबईको जहाजमार्फत धनुषाका आनन्द शाह, सुनसरीका राजेशकुमार स्वर्णकार र डोटीका राजन फुलाराको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए। 

आरणका अनुसार फुलाराको शव  शुक्रबार दिउँसो, स्वर्णकारको गएराति र शाहको शव आज बिहान नेपाल आइपुगेको हो।
इजरायलमा अक्टोबर ७ मा हमास समूहको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। ६ जना घाइते भएका थिए। एक अझै वेपत्ता छन्। अहिलेसम्म आठ जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत उनीहरू इजरायल गएका थिए। आक्रमणमा परि ज्यान गुमाएका थप दुई जना डोटीका पदम थापा र सल्यानका प्रवेश भण्डारी छन्। 

आक्रमणमा परि कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कविहीन छन्। जोशी हमासको बन्धकमा परेका इजरायल सरकारले पुष्टि गरिसकेको छ।

कात्तिक १८, २०८० शनिबार १२:०८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।