कोशीको सरकारमा माओवादी र समाजवादीलाई ल्याएपछि एमाले असन्तुष्ट, सरकार छाड्ने तयारी

कोशीको सरकारमा माओवादी र समाजवादीलाई ल्याएपछि एमाले असन्तुष्ट, सरकार छाड्ने तयारी

विराटनगर :  कोशी प्रदेशको मन्त्रिपरिषद विस्तार गर्दै माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदलाई मन्त्री बनाएपछि एमाले रुष्ट भएको छ।

शुक्रवार माओवादीबाट मोरङका गणेश उप्रेती र एकीकृत समाजवादीबाट पाँचथरका कमल जबेगु मन्त्री नियुक्त भएका थिए।

कोशी सरकारमा एमालेका राम राना बिना विभागीय मन्त्री छन्। असोज २७ गते मुख्यमन्त्री नियुक्त भएपछि केदार कार्कीले त्यसबेला एमालेका राना र काँग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गरेका थिए।

एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कार्कीले सरकार विस्तारबारे छलफल नगरेकाले शनिवार बैठक बसेर छलफल गरिने बताए।

उनले बैठकमा छलफलपछि सरकारबाट बाहिरिने विषयमा औपचारिक निर्णय गरिने समेत बताए।

काँग्रेस सांसद कार्की एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। पछि काँग्रेस, माओवादी एमालेसहितले विश्वासको मत दिएको तर।

काँग्रेस र माओवादीले कार्कीलाई मुख्यमन्त्री दाबी गर्दा साथ दिएका थिएनन्। कार्कीले काँग्रेसका आठ सांसदसहित बाँकी एमालेका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेर नियुक्त भएका थिए।

समर्थन गर्दा नै एमालेले माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराए आफूहरू सरकारबाट हट्ने सर्त राखेका थिए।

कात्तिक १८, २०८० शनिबार ०८:२२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।