जाजरकोट भूकम्प (अपडेट): मृतकको संख्या १२८ पुग्यो, १४० बढी घाइते

जाजरकोट भूकम्प  (अपडेट): मृतकको संख्या १२८ पुग्यो, १४० बढी घाइते

काठमाडौं : शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ। भूकम्पमा परी १४०  जना बढी घाइते छन्। 

जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएकाे छ।  ५५ जना घाइते भएका  छन्। यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ।

भूकम्पमा परेर रुकुम पश्चिममा अहिलेसम्म ८५ जना घाइते भएको विवरण प्राप्त भएको प्रहरीले जनाएको छ। मध्यरातीमा भूकम्प गएका कारण क्षतिको यकिन विवरण संकलन हुन नसकेको प्रहरीको भनाई छ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्चिच्युडको भूकम्प गएको थियो।

शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रमा उद्धार, खोज र उपचार व्यवस्थानका लागि जाजरकोट उडेका छन्।

उनी १६ जना स्वास्थ्यकर्मीका टोली र आवश्यक उद्धार सामग्रीसहित त्यसतर्फ उडेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।   

कात्तिक १८, २०८० शनिबार ०७:५४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।