बलिउड अभिनेत्री केटरिना जस्तै देखिन्छिन् त अभिनेत्री रेखा !
काठमाडौँ : रुद्रप्रिया अनि मालिका फिल्म फ्लप भएपछि एकाएक रेखा थापा फिल्म निर्माण र अभिनयबाट टाढिँदै गइन्। उनमा राजनीतिको चस्का लागिसकेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागिन्। पार्टीको महामन्त्रीमा प्रतिस्पर्धा गरिन्। तर सफल भइनन्। गत मङ्सिर ४ को निर्वाचनमा प्रतिनिधि सभाको सदस्य बन्ने प्रयास गरिन्। त्यो पनि सफल भएन। अनि उनी फिल्म क्षेत्रमै फर्किइन्।
ज्ञानेन्द्र देउजालाई फिल्म निर्देशनको जिम्मा दिएर उनी अभिनेत्रीको रूपमा फिल्म उपहार लिएर दर्शकमाझ फर्किँदै गरेकी रेखामा हल्का कतै दर्शकले बिर्सिएका त छैनन् भन्ने चिन्ता देखियो शुक्रवार। फिल्मको पहिलो गीत सार्वजनिक गर्न आयोजित कार्यक्रममा सहभागी भएकी उनले अधिकांश समय यो चार वर्षमै केन्द्रित भइन्। अनि आफू देश बनाउने अभियानमा लागेको स्पष्टीकरण दिइन्।
चार वर्षको ग्याप भनेको धेरै हैन भनेर कन्भिन्स गर्न उनले बलिउडका नायिकाहरूको उदाहरण दिइन्। पूजा शर्मा छोटो-छोटो ड्रेसमा छिन्। प्राय छोटो कपडामा देखिने रेखाले गीतमा लामो कपडा लगाएर सिम्पल स्टेपहरुमा नाचेकी छिन्। योजना त छोटो कपडा लगाउने नै रहेछ। एकाएक उनको गर्भमा सन्तान आयो। गीतको सुटिङको बेलामा पाँच महिनाको गर्भवती रहिछिन् उनी। तै पनि भिडियोमा त्यस्तो केही देखिँदैन।
तै पनि कतै सेक्सी देखिएकी छैन कि भन्ने लागिरहेको रहेछ। उनले पत्रकारहरूलाई सोधिरहिन्' म सेक्सी देखिएकी छैन र! रेखा थापा सेक्सी देखिन हाफ पाइन्ट नै लगाउनु पर्ने?'
कुरै कुरामा उनले आफ्नो उमेरको प्रसङ्ग पनि निकालिन् अनि आफ्नो उमेरसँग बलिउडका न्यायीकाको उमेरसँग दाँज्दै हल्का नेपालीको सोचमाथि प्रहार पनि गरिन्।
'बलिउडमा दुई तीन वर्षको ग्यापमा आउँदा केही पनि लाग्दैन। मेरै उमेरका केटीहरू नाच्दा एकदम सेक्सी र ग्ल्यामर लाग्छ। दीपिका पादुकोण होस् या केटरिना क्याफ होस्, मेरो उमेर केटरिना भन्दा ठुलो त हैन नि' उनले भनिन्।
उनी यतिमै अड्किइनन्। नेपालका हिरोहरूप्रति समेत व्यङ्ग्य गरिन्। हिजोआज एक आपसमा झगडा गरेर हिरोहरू सकिएको भन्दै उनले आफूले फिल्म उपहारमार्फत हिरो जस्तै देखिने हिरो ल्याएको भन्दै फिल्म उपहारको अभिनेतातिर देखाइन्।
उनले उपहार आफूले अभिनय गरेको फिल्ममध्ये सबैभन्दा उत्कृष्ट बनेको दाबी गर्दागर्दै पनि रुद्रप्रिया र मालिका कमजोर फिल्म बनाउन पुगेको स्विकार गरिन्।
कात्तिक १८, २०८० शनिबार ०१:३५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।