मुगुमा हत्या घटनाको अनुसन्धानमा प्रदेशले माग्यो सिआइबीको सहयोग
सुर्खेत : छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा मारिएका आमाछोरा र छफरीको सामूहिक दाहसंस्कार गरिएको छ। घटना भएको आठ दिन र शव परीक्षण भएको चार दिनपछि चारै जनाको शुक्रवार दाहसंस्कार गरिएको हो।
हत्याको कारण पत्ता नलागेको भन्दै मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोराले शव बुझ्न मानेका थिएनन्। उनले नमानेपछि दाहसंस्कारमा ढिलाइ भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता गोपालचन्द्र भट्टराईले बताए।
कात्तिक ८ गते राति २८ वर्षीया आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोराको घरभित्रै सामूहिक हत्या भएको थियो। कात्तिक १० गते बिहान घटना थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।
`शनिबार सीआइबी घटनास्थलमा आउँछ'
घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरे पनि प्रमाण पाउन सकेको छैन। प्रवक्ता भट्टराईले घटनाको विस्तृत अनुसन्धान गर्न घटनास्थलमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) शनिबार आउने बताए।
`प्रदेश प्रहरी कार्यालय, जुम्ला र मुगुले कुकुरसहित विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ,'प्रवक्ता भट्टराईले भने, `घटनाको थप अनुसन्धानका लागि हामीले सीआईबीलाई अनुरोध गरेका छौँ। शनिबार सीआईबीको टिमले घटनास्थल पुगेर विस्तृत अनुसन्धान अगाडि बढाउँछ।´
अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतका अनुसार अहिले घटनाबारे तीन जना प्रहरी निरीक्षकहरूले छुट्टाछुट्टै कोणबाट अनुसन्धान गरिरहेका छन्। मुगु प्रहरीलाई कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएका अनुसन्धान अधिकृतहरूले सहयोग गरिरहेका छन्।
अहिलेसम्म धारिलो हतियारले हानेर मारेपछि घरको ढोकामा ताला लगाएर हिँडेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष देखिन्छ।
कात्तिक १७, २०८० शुक्रबार २०:४२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।