फिल्म ‘नाङ्गो गाउँ’को गीतको कोरियोग्राफी‘चेन्नेई एक्सप्रेस’बाट चोरियो, प्रमाण देख्दा पनि संयोग भन्दै ढाँटे कोरियोग्राफर रामजीले

फिल्म ‘नाङ्गो गाउँ’को गीतको कोरियोग्राफी‘चेन्नेई एक्सप्रेस’बाट चोरियो, प्रमाण देख्दा पनि संयोग भन्दै ढाँटे कोरियोग्राफर रामजीले

काठमाडौँ : ट्वाक्क हिन्दी फिल्मको फ्रेमबाई फ्रेमदेखि कथा अनि डायलगसम्म चोरी गरेर नेपाली फिल्म बनाउनु सामान्य थियो कुनै समय। तर चोरी पकडिन थालेपछि भने यो क्रम घट्दै गएको थियो। तर अहिले पनि फिल्म निर्माता तथा कलाकार जयकिशन बस्नेत पनि सक्रिय नै छन् यसमा।

हिन्दी फिल्मका सिन डिट्टो कपी गरेको भनेर उनी बदनाम छन्। तर यहाँ क्रियटिभ अनि मौलिक फिल्म बनाउने दाबी गर्नेहरूको हालत पनि जयकिशनको भन्दा के नै फरक छ र !

नपत्याए हालै रिलिज भएको फिल्म ‘नाङ्गो गाउँ’को एक गीतलाई हेरौँ। यस फिल्मका निर्देशक हुन् दीपेन्द्र लामा। अभिनय गरेका छन् दयाहाङ राई र मिरुना मगर लगायतका कलाकारले। चोरिएको कोरियोग्राफी हो है।

सुस्मिता सिग्देलको रचना अनि अञ्जु पन्त र एसडी योगीले गाएको ‘सुन सुन सुन्दरी’ बोलको गीतका धेरै फ्रेमहरू दश वर्ष अघि रिलिज भएको बलिउड फिल्म ‘चेन्नई एक्सप्रेस’ को ‘तितली’ बोलको गीतको भिडियोसँग हो कि हो कि जस्तो हैन ट्याक्क मिल्छ।

‘तितली’ भनेको नेपालीमा पुतली नै हो। यता नाङ्गो गाउँको रचनामा पनि पुतली शब्दको प्रयोग भएको छ। अब यसलाई संयोग मानौँ। सङ्गीत सुशान्त गौतमको रहेको छ। सङ्गीत पनि मीठो छ। कोरियोग्राफीको जिम्मा पाएका रामजी लामिछानेले कोरियोग्राफी भनेर चोरियोग्राफी गरे।

उनले ‘तितली’ बोलको गीतमा दीपिका पादुकोण र शाहरुख खानको अभिनय र सेटअप फ्रेम बाई फ्रेम टक्क चोरेर चट्ट नाङ्गो गाउँमा राखेर आफैँ नाङ्गिएका छन्। तर चोरी पक्डिँदा पनि कोरियोग्राफरबाट चोरियोग्राफर भएका उनी आफ्नो बदमासी स्वीकार गर्न राजी भएनन्।

उनले सयपत्री फूल त नेपालमा पनि हुन्छ नि भनेर बदमासी लुकाउन खोजे। तर कुरो भिडियोमा कुन प्रजातिको फूल देखाइयो भन्ने हैन, कोरियोग्राफीको सटको कुरा हो, फ्रेमको कुरा हो।

‘मैले पनि हेरेँ त्यो। त्यहाँ जुन फूलको सेटअप छ त्यो अलिअलि मिल्न गाको रैछ। अरू त खासै मिलेको होइन’ उनले उकेरासँग यसरी ढाँटे।

उनले पटक-पटक यसलाई आफूले जानीजानी नभई संयोगवश मिल्न गएको भनेर ढाँटिरहे। कमसेकम बदमासी पक्डिएपछि त स्विकार्नु नि। स्वाट्ट जस्ताको त्यस्तै फ्रेम लिँदा पनि संयोग भनेर ढाँट्नुको साटो ‘मलाई मन पर्यो अनि दुई सट राखेको’भन्दा भइहाल्थ्यो।

कात्तिक १७, २०८० शुक्रबार २०:२५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।