साहित्यकार खेमनाथ दाहालको हिजोको कुरा : बटुवाको पैसा लुटेर नयाँ जुत्ता र मोजा, घरमा आमाको धुलाई
साहित्यकार खेमनाथ दाहालको जन्म तेह्रथुमको लाभ्रीमा भयो। पाँच दाजुभाइमध्ये उनी कान्छा। उनका बुबा त्यो समयका कहलिएका ज्योतिष। त्यसैको प्रभावले होला उनको परिवारका सबै सदस्य शिक्षित।
तेह्रथुम जन्मिए, पढाई धरानको पिण्डेश्वरमा भयो। धरानमा पढ्दाताका दाइको उक्साहटलाई परेर बटुवाको सय रूपैयाँ लुटेछन्। लुटेको पैसामध्ये दाइले दश रूपैयाँ दिएर बाँकी आफैंले लिए। त्यही १० रुपैयाँबाट उनले पहिलो पटक छालाको जुत्ता र मोजा किने। लुट्नु अपराध भइहाल्यो। उनको बदमासी आमाले थाहा पाइन् अनि लुटेको पैसाले किनेको जुत्ता र मोजा नै लगाउन दिइनन्। कुटाई भेटे आमाको अनि आमाले नै त्यो जुत्ता र मोजा चतरातिरका एक किसानलाई दिएर पठाइन्।
उनको जीवनमा यस्ता रोचक अनि घोचक अनगिन्ती अनुभव छन् जुन उकेराको नियमित स्तम्भ हिजोको कुराका लागी साटे।
धुलो पार्टीमा ‘क’ ‘ख’
त्यो बेलामा अहिले जस्तो सुविधा थिएन पढ्न। डटपेन अनि कापी नै पाइँदैनथ्यो। काठको कालो पाटीमा धुलो हाल्यो अनि हातका औँलाले ‘क’, ‘ख’ लेख्न सिक्यो। उनका दाईहरुले गजबको मसी बनाएर लेख्थे। उनको पालामा बजारमा मसी आइसकेको थियो। तर मसी प्रयोग गर्ने अनुमति पाएका थिएनन्।
‘हामीले रातोमाटो कुटेर काठको पिर्का जस्तो पार्टीमा छर्कन्थ्यौँ। अनि औँलालाई कलम बनाएर लेख्थ्यौँ। अहिले खरीपाटी भन्छन्। तर त्यो बेलामा डिकोपाटी भन्ने चलन थियो’ उनले सम्झिए।
त्यो बेलामा पढ्ने पुस्तक हितोपदेश, पञ्चतन्त्र, चण्डी अनि रुद्री। त्यो बाहेक ठूलो वर्ण माला किताब थियो। त्यो किताबका अधिकांश कुरा सारांशमा लेखिएका हुन्थे। त्यो उनी अहिले पनि सम्झन्छन्।
‘ज्योतिष,राशिफल हेर्ने तरिका पनि सिकाउँथे। सामान्य ज्ञान पनि थियो। कथा पनि थियो। हरेक पक्षलाई समेटेर एउटा ठूलो वर्णमाला भन्ने थियो। त्यो किताब पढाइन्थ्यो’उनी सम्झन्छन्।
उनी पाँच-छ वर्षको भएपछि बाबुआमाले उनलाई पढाउन धरान लिएर आए। चण्डेश्वर स्कुलमा भर्ना गरिदिए। उनका बुबा प्रसिद्ध ज्योतिष भएकाले घरमा त्यति बस्न पाउँदैनथे। उनी भारतको सिलिगुडी, कलकत्ता,दार्जिलिङ गइरहन्थे।
‘बुबा भारतका विभिन्न ठाउँमा पुगेकाले छोराछोरी जसरी पनि पढाउनुपर्छ भन्ने लागेछ। दाईहरुलाई बुबाले १९९६ सालबाटै पढाउन धरानमा जग्गा किन्नुभएछ अनि क्रमशः तराई झार्नुभयो। मेरो पालोचाहिँ २०१६ सालमा आयो।’
उनको घरबाट चण्डेश्वर पुग्न आधा घण्टा समय लाग्थ्यो। स्कुल जाँदा गोजीमा मुराई बोकेर जान्थे। त्यो बेला उनको साथी गोपाल भण्डारी, वासुदेव भण्डारी, अहिलेका वरिष्ठ अधिवक्ता हरिहर दाहाल थिए। अनि धरानको पिण्डेश्वरमा उनले बैजनाथ भट्टराई गुरुसँग पढ्ने मौका पाए।
स्कुलको शुल्क महँगो थिएन। पढ्न खासै खर्च लाग्दैनथ्यो। कापी कलम,पाटी किन्ने खर्च मात्र हुन्थ्यो। अङ्ग्रेजी विषय पढाई हुने स्कुलमा भने २-४ रूपैयाँ फि लिने चलन थियो। उनले पढ्ने स्कुलमा अङ्ग्रेजी विषय पढाई हुँदैनथ्यो। संस्कृत र नेपाली मात्र थियो।
बिरामी हुँदा धामी झाँक्री कै भर
त्यो समयमा उपचार भनेको घरायसी औषधि मात्र। अलि बढी बिसन्चो भए धामीझाँक्री कै भर। बुबाहरू यज्ञ गर्न तेह्रथुमको घरमा गएको बेलामा घरमा उनी र कान्छा दाइ मात्र थिए। उनी बिरामी भए। उनी एकदम सिरियस भएका थिए। अहिले सम्झँदा त्यो बेलामा उनलाई टाइफाइड भएको रहेछ।
‘हजुरआमाले महायज्ञ गर्न भनेर अन्यलाई पहाड लाग्नुभएको थियो। त्यही समयमा म बिरामी भएँ। आमाले उपचारका लागि भनेर १ रूपैयाँ पठाई दिनुभएको थियो। त्यो पैसाले २ महिनासम्म घुगुनी (चना मटरको तरकारी जस्तो प्रकार) लगायत खुवाए। अनि निको भयो।’
दाइको योजनामा पैसा लुट्दा
९ वर्षको उमेरमा उनी निकै बदमास रहेछन्। बाल्यकालको उमेर त्यस्तै त हो। उनको दाइले उक्साएपछि उनले एक जना बटुवाको सय रूपैयाँ लुटे। त्यो घटना सम्झँदा उनलाई अहिले पनि पछुतो लाग्ने रहेछ।
‘म र मेरो काकाको छोरा एकदम मिल्ने। साथी जस्तै थियौँ। एक दिन धरानकै पिण्डेश्वरमा पढ्दा एक जना मान्छेलाई लौरी देखाएर एक समय रूपैयाँ लुट्यौँ। यो २०१८ सालतिरको कुरा हो। एक समय रूपैयाँ ठूलो रकम थियो त्यो बेलामा।’
उनले घटनाको बेलिबिस्तार लगाउन थाले।
‘काकाको छोरा म भन्दा जेठो। नाम यसराज। उहाँ पनि पिडेश्वरमा पढ्नुहुन्थ्यो। म पनि त्यहीँ पढ्थेँ। चण्डेश्वर यसराज जानुभएको बेला हरिहर दाहालले मैले आज यति पैसा भेटाएँ, तल (एक्ले धारो) मा एउटा मान्छे भात पकाएर खाँदै थियो त्यसलाई दिएर आए भन्नुभएछ,’उनले बाल्यकालको घटना सम्झँदै भने,‘हरिहरको कुरा सुनेपछि यसराज दाइ पैसा लुट्न एउटा लाठी बोकेर उनी भएतिर गए। दाइले त्यो हाम्रो हो लिएर आउनुपर्छ हिँड भन्नुभयो। म दाइको भक्त। उहाँको पछि पछि लागे। त्यो मान्छे (बटुवा)एक्ले धारो भन्नेमा भात पकाइरहेको रहेछ। अनि दाजु यसराजले आँटैले, ए दाइ हाम्रो भाइले तपाईँलाई पैसा दिएछ हो त्यो फटाहाले भन्नुभयो। त्यसरी दाजुले भने पछि त्यो मान्छे छक्क पर्यो। अनि त्यो पैसा सरक्क दिनुस्। त्यो भाइ एकदम फटाहा छ। बुबा-आमाको पैसा बाँड्दै हिँड्छ भन्नुभयो।’
दाइले हाम्रो बुबा अलिक कडा स्वभावको हुनुहुन्छ भन्दै गफ दिएपछि दशको दश वटा नोट उनलाई दिएछन्। त्यो नोट दशैँमा बाँड्ने नयाँ जस्तै थियो। फुत्त पैसा दिएपछि कुलेलम ठोके। पैसा पाएपछि दङ्ग परेका दुबैले त्यो दिन क्लास बङ्क हाने।
लुटेको पैसाले छालाका जुत्ता
क्लास बङ्क हानेपछि उनीहरू झाडीमा गएर पैसा बाँडे। उनको दाइले ९० रूपैयाँ राख्ने उनले १० रूपैयाँ मात्रै पाए। दाइले ‘ला त पनि बोकिराख भनेर १० रूपैयाँ दिँदा उनको चित्त दुखेछ। चण्डेश्वर भन्दा अलिक माथि विजयपुरमा उखु पाइन्थ्यो।
नयाँ १० को नोट दिएर चार लाँक्रा उखु किने। १० को नोट बोकेका फुच्चे देख्दा उखु बेच्ने आमै छक्क परिन्। उनले ‘तिमीहरू पण्डितका छोरा जस्ता छौँ। यत्रो पैसा कहाँबाट ल्यायौ’ भनेर सोधिन्।
‘मलाई त्यो बेला के बुद्धि पलायो खै,मैले राखेको १० रूपैयाँ निकालेर हाम्रो मामा अछामबाट आउनुभएको थियो। पैसा दिएर जानुभयो भने। त्यति भनेपछि ती आमैले पैसा काटिन्। अनि धरान आयौँ’ उनले भनिन्।
दुई दाजुभाइ धरानमा आएर नयाँ जुत्ता र मोजा किनेछन्। रसबरी अघाउन्जेल खाए। चिया खाए। त्यो समयमा शान्ति बिस्कुट पाइन्थ्यो। त्यो पनि खाए। पान खाए। अनि काकाको घरमा गए। काकाको घरका मान्छेले ‘के हो यसराज जी, आज त नयाँ जुत्ता’ भन्न थाले। दुवैले नयाँ जुत्ता,नयाँ मोजा लगाएको देखेर काकाले सोधिहाले। उनले सबै घटना भनेछन्। काकाले
यसराजलाई गाला फुट्ने गरी थप्पड हाने। त्यही साँझ अरू दाजुहरू घरमा आएपछि चोरेको पैसाले दाजुहरूको खुट्टामा ५–५ रूपैयाँ राखेर ढोग्न लगाए।
पैसा लुटेपछि त्यो दिन घर गएनन्। भोलिपल्ट बिहान घर पुगे। काकाको घरबाट बिहान घर जाने बित्तिकै आमाले शिरदेखि पाउसम्म हेरिन्। आमाले एक झ्याम्टा गालामा दिइन्। उनको नयाँ जुत्ता र मोजा फुकालेर हुर्याइदिइन्। लुटेको पैसाले किनेको भनेर चक्करघट्टीका एक जना किसान दिएर पठाइदिइन्।
मेन्सिम धापमा गोठ
तेह्रथुमको मेन्सिमधापमा उनको परिवारको गोठ थियो। त्यहाँ पुग्न ४-५ घण्टा लाग्थ्यो। बिहानै घरबाट हिँड्दा बेलुका घर आइपुगिन्थ्यो। त्यहाँबाट दूध,मोही बोकेर आउँथे।
‘गोठमा जाँदा कहिले चिप्लेटी खेल्थेँ। अर्को गोठकी दिदी थिइँन,म भन्दा केही वर्ष जेठी। उनले खै कहाँबाट अश्लील गीत सिक्थिन् कुन्नि मलाई पनि छाडा गीतहरू सिकाउँथिन्। मैले त्यही गाउँथे। मलाई लाग्छ,त्यो बेलाको सुन्दर अनुभूति,त्यो निस्फिक्री हिँड्दाको यादगारहरू अहिले झलझली आँखा वरिपरि आउँछ,’उनले अतीत सम्झँदै भने,‘ अब यस्तो समय आउँछ कि आउँदैन थाहा छैन,तर त्यो समय असाध्यै राम्रो थियो। किनभने अज्ञानताले के के सिकाउँदो रहेछ। यदि ज्ञान भएको भए त्यस्ता शब्दहरू गाइँदैन थियो होला।’
आफ्नो बाल्यकालको समयलाई स्वर्णिम युगका रूपमा सम्झन्छन् उनी।
‘मेरो त्यो बाल्यकाललाई स्वर्णिम युग थियो भन्ने लाग्छ। त्यो समय प्रकृतिले नै धेरै कुरा सिकाएको थियो। किनभने त्यो समय कुनै प्रविधि थिएन। सबै कुरा कहाँबाट आउँथे थाहा हुन्थ्यो र?’उनी अलि भावुक भए।
‘लिम्बू मामा, मेरी आमा उनीहरूको दिदी’
उनको समयमा लाहुर जाने प्रचलन थियो। धरानमा बेलायती सेनामा भर्ती भएकाहरू टन्नै थिए। उनीहरू हङकङ,सिंगापुरबाट आउँदा स्वर्गबाट कोही आएजस्तै लाग्थ्यो उनलाई। बाहुन हुन् या लिम्बु खूब मिलेर बसेका थिए तेह्रथुममा।
‘त्यो बेला मेरो आमाहरूले लिम्बू आउँदा जेठाजु आउनुभयो भनेर बर्कोले टाउको ढाक्नुहुन्थ्यो। कसैलाई दाजु र आफू भन्दा साना भए भाइ आयो भनेर चिज गर्नुहुन्थ्यो। हामी मामा भन्थ्यौ,दशैँमा टीका थाप्न जान्थ्यौँ। उहाँहरूले पनि भान्जा भान्जी भनेर चिज गर्नुहुन्थ्यो,’ उनले भने‘राई,लिम्बू, कामी, क्षेत्री बाहुन भनेर कमै विभेद थियो। तर अहिलेको जस्तो फलाना, ढिस्काना भन्ने चलन थिएन। सबैले एक अर्कालाई सम्मान गर्थे।’
उनको अनुभवमा अहिले पढेका बढेका छन्। विभेद हट्नुपर्नेमा थप बढेको छ।
मदन भण्डारी स्कुलका साथी
उनको काकाको छोरा यसराज दिङ्ला जाने भए पढ्न। पढेर दाइले जित्नुहुने भयो भनेर उनलाई चिन्ता लाग्यो। खाना खानै छोडे उनले। घुर्क्याउनुसम्म घुर्क्याए घरमा। घरमा अनसनै बसे उनी।
त्यही समयमा उनको गुरु बैजनाथ धरानमा रहेको उनको घरमा आए। उनले ताप्लेजुङको एउटा स्कुलमा पढाउने। उनी भट्टराई अनि उनको आमा भट्टराईकी छोरी। दिदी- भाइको सम्बन्ध थियो। उनको आमाले ‘भान्जाले यसोयसो गर्यो, पढेन भनेर सुनाइन्।
गुरुले ‘यसले राम्रो पढ्छ,म लान्छु’ भनेर ताप्लेजुङ लगे। यो चैं २०२० सालको कुरा रहेछ। उनी गुरुसँगै छात्रावासमा बसे। उनको गुरुले पढाउने स्कुलमा एमालेका नेता मदन भण्डारी पनि पढ्ने रहेछन्।
‘त्यहाँ मेरो समकालीनहरूमा मदन भण्डारी,डिल्ली काफ्ले,इन्द्र काफ्ले, तुलसी भट्टराई लगायतका थिए। पढाइको कुरा गर्ने हो भने मदन भण्डारीको पढाइमा त्यति तेज थिएन। ताप्लेजुङमा म २ वर्ष बसेर पढ्दा गुरुहरूबाट मदनको कुनै तारिफ भएको सुनिन। उनी विलक्षण खालका पनि थिएनन्’ उनले भने।
उनको अनुभवमा मदन बनारस गएपछि परिवर्तन भए। उनलाई पछि कतै त्यो समयमा मदनको क्षमता बुझ्न नसकेको पो हो जस्तो पनि लागेछ।
अङ्ग्रेजी नजान्दाको पिडा
एक दिन तेह्रथुमको फुङलिङ बजार जाँदा बुढी आमैले छोराले पठाएको चिठी हातमा थमाउँदै पढ्न लगाइन्। त्यो उनको छोराले हङकङबाट पठाएको चिठी रहेछ। ठेगाना अङ्ग्रेजीमा लेखिएको थियो। ‘मेरो छोराले पठाएको चिठी अरे। हो, होइन’ भनेर सोधिन्। उनले अङ्ग्रेजी पढ्न जानेनन्। अङ्ग्रेजी पढेकै थिइनन्। । संस्कृत र नेपाली मात्रै जानेको।
‘मैले त्यो चिठी समाउँदा उल्टो समाएकी के गरे कुन्नि अर्को एक जना भाइ आएर फुत्त चिठी खोसेर मजाले अङ्ग्रेजीमा पढे। त्यो भाइले चिठी पढिदिएपछि स्यावास भनेर आशीर्वाद दिइन्। त्यो अङ्ग्रेजी नजान्दा म झडङ्ग भए। अनि अब संस्कृत पढ्दिन भन्ने मनमा आयो। किनभने यतिको पढ्दा पनि मैले एउटा चिठी पढ्न जानिन्।’
२०२३ सालतिरको कुरा। त्यो बेलामा गाउँका मान्छेहरूको चिठी दोकानमा राखिदिएका हुन्थेँ। उनीहरू सामान किन्न आउँदा चिठी आएको छ है फलानाको भनेर दिन्थेँ। कोही कोहिले मेरो छोरोले चिठी पठाएको छ भनेर पसलेलाई सोध्थेँ। किनभने हुलाकीले दोकानमा छोडिदिन्थ्यो।
अङ्ग्रेजीमा लेखिएको ठेगाना पढ्न नजानेपछि उनको मनमा गहिरो झस्का पस्यो। उनले अङ्ग्रेजी पढ्न भनेर ताप्लेजुङबाट दुई दिनको बाटो हिँडेर धरान आए।
‘अङ्ग्रेजी नजानेपछि मनमा तोड पर्यो। त्यसपछि गुरुसँग विदा मागेर धरान फर्किएँ। गुरुले किन जान्छस् भन्दै हुनुहुन्थ्यो म जान्छु भनेर जिद्दी गरेपछि एक जनाको साथ लगाएर धरान पठाउनुभयो। बुबाले संस्कृतै पढोस् भने पनि १० कक्षा पढ्दा पनि अङ्ग्रेजी नजानेपछि मन लागेन ’उनले भने‘संस्कृत नपढ्ने भएपछि बुबाले हार खाएर जे गर्छ गरोस् भनेर भानदाईसँग सल्लाह लिनुभएछ। भानदाईले अहिलेको समय नै अङ्ग्रेजीको छ भनेर सम्झाएपछि धरान पब्लिक हाई स्कुलमा दुई कक्षा तल झरेर आठमा भर्ना भए।’
कक्षा आठबाट अङ्ग्रेजी
धरान पब्लिक हाई स्कुलमा अङ्ग्रेजीसँगै साइन्स पनि पढाइ हुन्थ्यो। उनले साइन्स हुन्छ भन्ने सुनेका थिए। तर पढेका थिएनन्। यो साइन्समा के हुन्छ भनेर दाइहरूलाई हैरान बनाउँथे उनी।
साइन्स थाहा पाउन शिक्षक राधा श्रेष्ठसँग ट्युसन पढे उनले। शिक्षकले सहज तरिकाले साइन्स र गणित विषय पढाउँथे। राधा श्रेष्ठसँग ट्युसन पढेपछि उनको मनपर्ने विषय गणित भयो।
‘म ८ मा पढ्दा सेकेन्ड भए। ९ मा पाँचौँ भए। त्यो समयमा टप १० भित्रका विद्यार्थीलाई शिक्षकहरूले राम्रो पढाउँथे। ट्युसन पनि पढाइदिन्थे,’उनले भने,‘एसएलसीमा एक जना विद्यार्थीले परीक्षाको बेला प्रश्न पत्र बोकेर बाहिर गएपछि कडाइ भयो। कसैको पनि फस्ट डिभिजन आएन। मेरो पनि ८६ प्रतिशत आएको थियो।’
चाहना एउटा, पढाई अर्को
एसएलसीपछि उनी रसीया गएर मेकानिकल इन्जिनियर पढ्न चाहन्थे। अनि काठमाडौँ आएर अस्कल पढ्ने रहर पलायो तर कुरै मिलेन। उनको साथीहरूले काठमाडौँमा तीन-चार महिनाको क्लास लिइसकेका रहेछन्। उनी धरानकै पब्लिक हाई स्कुलमा नाम लेखाएर कमर्स पढ्न थाले।
‘मलाई कमर्स पढ्न मनै लागेन। फ्रस्टेसनमा गए। बरालिए,नेता हुन थाले। कलेजमा भाषण दिन थाले’ उनले भने।
काठमाडौँमा पढ्ने टेकेन्द्र कार्की लगायतहरु धरानमा आएको बेलामा ‘तँ यहाँ बसिस् भने बिग्रन्छस् काठमाडौँ हिँड भनेर साथै ल्याएछन्।
उनी काठमाडौँ आएर अस्कलमा बसे। पछि त्रिचन्द्र कलेजमा भर्ना भए। आइकम पास गरे। बीकमको परीक्षा दिने बेलामा घरायसी कुराले धरान फर्किए। धरान आएपछि विराटनगरमा रहेको महेन्द्र मोरङ कलेजमा बीकममा भर्ना भएर परीक्षा दिए। उनी अङ्ग्रेजीमा फेल भए।
‘फेरि परीक्षा दिएर पास गरे अनि विवाह पनि यही बेला गरियो।’
त्यो बेलाको अन्तर्जातीय विवाह
उनी अन्तर्जातीय विवाह गर्नुहुन्न भन्ने सोच भएको घरका सदस्य। तर कलेज पढ्दा कार्की थरकी युवतीसँग उनको प्रेम सम्बन्ध जोडियो। उनी कलेजमै पढ्ने।
‘यो ३२ सालको कुरा हो। म दाहाल बाहुन उनी कार्की क्षेत्री,समाजले पचाउने कुरा पनि थिएन। त्यो बेलामा अन्तर्जातीय विवाह गर्नु ठूलो कुरा थियो। अन्तर्जातीय विवाह बुबा आमाका नजरमा फट्याइँ नै थियो। तर मैले हिम्मत गरेर गरेँ’उनले भने।
उनले अन्तर्जातीय विवाह गरेको परिवारले मन पराएनन् तर कसैले नराम्रो व्यवहार भने गरेनन्। क्षत्री बुहारी भए पनि पछि स्विकारे। कमर्समा स्नातकोत्तर गरे पनि काम लागेन रे उनलाई। मनै नलागी पढेकाले त्यस्तो भएको बताउँछन् उनी।
‘साहित्य वा अङ्ग्रेजी साहित्यमा एमए गरेको भए राम्रो हुने रहेछ भन्ने लाग्छ अहिले। अहिले जे कुरामा साधना गरिरहेको छु त्यसलाई सहायक हुन्थ्यो। तर कमर्स पढेर केही काम लागेन’ उनले भने।
कबर्ड हलको ठेक्का डुबेपछि साहित्यमा
उनी २०१८ सालबाटै साहित्यमा कलम चलाउन थालेका थिए। उनको कविता २०३२ सालमै पत्रिकामा छापिएका थिए। उनले तेह्रथुममै कबर्ड हल बनाउने ठेक्का लिएछन्। ३ लाखको काम ९६ हजारमा लिएर श्रीमतीको गहना समेत बेचे। धेरै घाटा भयो।
‘तेह्रथुमको कबर्ड हलको ठेक्का लिन नजान्दा ३ लाखको काम ९६ हजारमा लिएछु। त्यसबेला शरदचन्द्र शाहको शक्ति। कामै गर्न सकिन। शाहले काम गर्न नसक्ने ठेकदारलाई थुन भने’ उनले भने’ म पैसा नभएर काम गर्न नसक्ने। सिडिओले मलाई माया गर्ने। मैले सिडिओलाई पनि रुवाएँ।’
धन्न एक जना इन्जिनियर त्यहाँ पुगेछन्। उनले धेरै सहयोग गरे। त्यतिबेला उनले काम सक्काउन धरानको २ बिगाहा जग्गा अनि श्रीमतीका गहना समेत बेचेछन्।
कबर्ड हल बनाउने बेलामा त्यहाँका स्थानीयले उनलाई निःशुल्क सहयोग गरेछन्। ढुङ्गा बोकिदिने, सामान ओसार्ने, ढुंङगा फोर्नेसम्म काम गरिदिए। अनि उनले ‘श्रद्धाञ्जली’,‘रश्मि’ र ‘योद्धा’ नामका कृति लेखे। त्यहीबाट उनको साहित्य यात्रा सुरु भयो।
‘मेरो साथमा १०-२० रूपैयाँ पनि थिएन। यस्तो बेलामा पनि मैले कविता लेख्न छोडिन्। त्यही ठाउँमा एउटा भीम दाइको होटल थियो। त्यहाँ गएर दाइ एउटा कविता सुनौँ न भन्थेँ। उनले हुन्छ भन्थे र कविता सुने बापत एक कप चिया दिन्थेँ,’उनले सुनाए।
हल निर्माणपछि कङ्गाल भएर उनी विराटनगर आए।
जति समस्या परे पनि उनले साहित्य लेखन छाडेनन् र सन्तुष्ट पनि छन् उनी अहिले।
कात्तिक १७, २०८० शुक्रबार १९:३४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।