५० प्रतिशत भन्सार छुटको चिनी आएन, ब्यापारीको गोदाम खोतल्न प्रहरी परिचालन

५० प्रतिशत भन्सार छुटको चिनी आएन, ब्यापारीको गोदाम खोतल्न प्रहरी परिचालन

काठमाडौं : दशैँ अगाडिबाटै बजारबाट चिनी गायब भयो। भारतले चिनी निर्यात रोकेलगत्तै नेपाली बजारमा आइसकेको चिनी लुकाइयो। छापा मारेर ७० हजार किलो चिनी फेला पर्यो तर प्रभावकारी अनुगमन भएन। किलोको २ सय ५० सम्म लिएर चिनी बिक्री भइरहेको बजारमा हस्तक्षेप गर्न अन्तमा सरकारले प्रहरी नै परिचालन गर्नुपर्यो।

सरकारले चिनी खोज्ने जिम्मा दिएपछि प्रहरीले सबै युनिटलाई निर्देशन दिइसकेको छ। सँगै सार्वजनिक सूचना नै जारी गरेर कहिँकतै कसैले चिनी लुकाएको जानकारी भए प्रहरीको हटलाइन सय वा हेलो सरकारलाई जानकारी दिन आग्रह गरेको छ।

गोदाममा डेढ लाख क्विन्टल चिनी सरकारी अनुगमनमा एक लाख ८० हजार क्विन्टल चिनी विभिन्न गोदाममा लुकाइएको देखिएको थियो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनमा यो तथ्यांक निस्किएको हो। तर गोदाममा भएका चिनी बजारमा ल्याउन भने सकेको छैन सरकारी संयन्त्रले।

सरकारी अनुगमनमा जुस तथा गुलियो पेय उत्पादकहरुले आवश्यकता भन्दा बढि चिनी बजारबाट उठाएर गोदाममा राखेका छन्। उनीहरूले कति समयसम्म चाहिने कच्चा सामान स्टक राख्न पाउने प्रष्ट नहुँदा कालोबजारी गर्ने ब्यापारीहरुले त्यसको लाभ लिइरहेका छन्।

सरकारै कालोबजारीको सहयोगी भन्सार छुटको चिनी आएन

दशैँ अगाडि सरकारले खाद्य तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई १०/१० हजार मेट्रिक टन चिनी आयातमा भन्सार छुटसहित अनुमति दिएको थियो।

चाडपर्वमा अभाव हुन नदिन भन्दै सरकारले निर्णय गर्यो। सरकारले २९ भदौँमा ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्न अनुमती दियो। तर दशैँमा त के तिहारमा पनि चिनी आयात हुने देखिन्न। दशैँमा दुबै कम्पनीले चिनी ल्याउन सकेनन्। टेण्डर प्रक्रिया शुरु भए पनि तिहार अगाडि पनि चिनी आउने सम्भावना देखिन्न।

​​​​​​​​​​​​​​

​​​​​​​नेपालमा वार्षिक २ लाख ५० हजार टन चिनी खपत हुने सरकारी आँकडा नै छ। त्यसमा एक लाख ९० हजार टन नेपालमै उत्पादन हुन्छ। बाँकी ६० हजार टन आयात गर्नुपर्ने सरकारी निकाय जानकार भए पनि समयमा आयात गर्दैन।

सरकारी संयन्त्रले बढि माग हुने समयमा बजारमा चिनी अभाव गराएर कालोबजारीको महौल बनाउँछन्।

कात्तिक १७, २०८० शुक्रबार ११:०१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।