क्रिकेट विश्वकप : भारतसँग श्रीलङ्काको लाजमर्दो पराजय

क्रिकेट विश्वकप : भारतसँग श्रीलङ्काको लाजमर्दो पराजय

एजेन्सी : आइसिसी विश्वकप २०२३ मा तीन सय ५८ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलङ्का १९.४ ओभरमा ५५ रनमै अल आउटहुँदा भारत दुई खेल अगाडि नै सेमिफाइनलमा पुगेको छ।

भारतले बिहीबार श्रीलङ्कालाई ५५ रनमा अल आउट गर्दै ३ सय २ रनको फराकिलो अन्तरले हरायो। यो जितसँगै भारत शीर्षस्थानमा रहेर दुई खेलको नतिजा आउनु अगाडि नै सेमिफाइनलमा पुगेको छ।

भारतको विश्वकपमा यो हालसम्मकै ठुलो जित हो। भारतले यस अगाडि सन् २००७ को विश्वकपको खेलमा बर्मुडालाई २ सय ५७ रनले हराएको थियो।

वानखडेमा टस हारे पनि भारतले पहिला ब्याटिङ गरेको थियो। भारतले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५८ रन बनाएको थियो।

भारतका ओपनर शुभमन गिलले ९२ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ९२ रन बनाएका थिए।

विराट कोहलीले ९४ बलमा ११ चौकासहित ८८ रन बनाए। श्रेयस ऐरले ५६ बलमा ३ चौका र ६ छक्कासहित ८२ रन बनाएका थिए।

दिलशान मदुशानकाले १० ओभरमा ८० रन खर्चेर ५ विकेट लिए। ब्याटिङमा आएका श्रीलङ्काका ओपनर पाथुम निसंका, दिमुथ करुणारत्ने, सदिरा समाराविक्रमा, दुशान हेमान्था र दुश्मन्था चामिरा शून्यमा आउट भएका थिए।

बरु तीव्र गतिका बलर कसुन रजिथाले १७ बलमा २ चौकासहित सर्वाधिक १४ रन बनाएका थिए। कुशल मेन्डिस र चरिथ असलंका १–१ रनमा आउट भएका थिए।

चरिथले त २४ बलमा १ रन मात्र बनाएका थिए। एन्जिलो म्याथ्युज २५ बला १ चौकासहित १२ रन बनाए। महेश थिक्सेना २३ बलमा २ चौकासहित १२ रन बनाएर नट आउट रहेका थिए।

भारतका मोहम्मद सामीले ५ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ५ विकेट लिएका थिए। मोहम्मद शिराजले ७ ओभरमा २ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए। रवीन्द्र जडेजा र जस्प्रित बुमराहले १-१ विकेट लिएका थिए। भारत ७ खेलमा १४ अङ्कका साथ शीर्षस्थानमा छ। 

कात्तिक १६, २०८० बिहीबार २३:०४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।