सकियो सदनको बर्खे अधिवेशन

सकियो सदनको बर्खे अधिवेशन

काठमाडौँ : सङ्घीय संसदको बर्खे अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले, मन्त्रिपरिषदको सिफारिसमा सङ्घीय संसदका दुवै सदनको चालू अधिवेशन आज बिहीबार राती १२ बजेदेखि अन्त्य भएको घोषणा गरेका हुन्।

राष्ट्रपति पौडेलले एक विज्ञप्ति जारी गरेर नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा चालू अधिवेशनको अन्त्य हुने जानकारी दिएका छन्।

गत वैशाख २४ गतेबाट सुरु भएको अधिवेशन बजेटसँग सम्बन्धित लगायतका अन्य केही विधेयकहरूलाई पारित गरेर अन्त्य हुन लागेको हो।

सरकारले गत असोज मसान्तमै बर्षे अधिवेशन अन्त्य गर्ने तयारी गरे पनि राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसको भ्रमण र संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्य तालिका भएपछि अधिवेशन लम्बिएको थियो।

कात्तिक १६, २०८० बिहीबार २२:४२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।