निर्देशक निश्चललाई उकेराको प्रश्न : तिहारमा नेताको ‘दिमाग खराब’ हुन्छ कि दर्शकको ?
२०६८ साल पुस २७ मा प्रदर्शनमा आएको फिल्म ‘लुट’ले निश्चल बस्नेतलाई नेपाली फिल्म क्षेत्रमा दरिलो निर्देशकको रूपमा उभ्यायो। लुट अगाडि केही फिल्ममा काम गरे पनि लुट उनको करिअरको टर्निङ पोइन्ट बन्यो। उनी मात्र उदाएनन् नेपाली फिल्म क्षेत्रमा उनले दयाहाङ राई, सौगात मल्लजस्ता कलाकारलाई भित्र्याए।
लुटलाई अहिलेसम्म पनि सुस्ताउँदै गरेको नेपाली फिल्म क्षेत्रलाई ‘उज्यालो देखाउने’ फिल्मको रूपमा लिइन्छ। 'लुट-२' अनि 'टलकजंग भर्सेस् टुल्के'ले 'लुट'को इतिहास दोहोर्याएन। त्यसैको प्रभाव हो या दह्रो कम ब्याकको गृहकार्य, ६ वर्षको विश्रामपछि उनी फिल्म ‘दिमाग खराब’ लिएर आएका छन्।
कात्तिक २४ मा रिलिज मिति तोकेर आक्रामक प्रचारमा रहेका उनी बिहीबार सोही फिल्मको कार्यक्रममा भेटिए। अनि उकेराले फटाफट केही प्रश्न राखिहाल्यो।
चौथो फिल्मका लागि यति लामो समय लाग्यो। यसको कारण?
मलाई स्क्रिप्ट चित्त नबुझेसम्म फिल्म बनाइहालौँ जस्तो लाग्दैन। आफैले उत्तर दिन नसक्ने प्रश्नको के काम ? आफूलाई कमी कमजोरी थाहा हुँदाहुँदै फिल्म बनाइयो भने यस्तै हुने जोखिम हुन्छ। त्यसैले स्क्रिप्ट नै चित्त बुझिरहेको थिएन। अनि अलि लामै ज्ञाप भयो।
६ वर्षको अन्तरालमा फिल्म निर्देशनमा फर्किनुभयो। यो तपाईँको कमब्याकै त होला हैन?
अब यसलाई कमब्याक भने पनि जे भने पनि हुन्छ। फिल्म बनाउन टाइम लाग्छ। अब चाहिँ फिल्म बनाउन यति धेरै समय लगाउँदिन होला।
तपाइका फिल्ममा प्राय एकै कलाकार दोहोरिइरहेका हुन्छन्। कथाको माग कि कम्फर्ट जोन खोजेको?
पहिला एक्लै बसेर काम गरिन्थ्यो अहिले ग्रुपमा बसिन्छ। म रोकिँदा अर्कोले आफू रोकिएको ठाउँ बताइदिनुहुन्छ। काम गर्न सजिलो हुन्छ। यही हो।
ट्रेलरले पहिलाका फिल्मको जस्तो उत्सुकता त्यति बढाउन सकेको देखिएन। व्यक्तिगत रूपमा कस्तो प्रतिक्रिया आएको छ?
कतिले राम्रै पनि भन्नुभएको छ। कतिपयले सबै चीज ट्रेलरमा नै आयो भन्नुभएको छ। कसैले लामो भयो भनिरहनु भएको छ। हामी फिल्म मेकरहरु चाहिँ ट्रेलरमा के–के कुरा दिने हो,के–के कुरा लुकाउने अर्थात् के-के देखाउँदा दर्शकमा उत्सुकता जगाउँछ भन्ने कुरा सोचिरहेका हुन्छौँ।
ट्रेलर बनाउँदा पहिलो कुरो हाम्रो दिमागमा आउने भनेको के विषयमा फिल्म हो भनेर हेर्ने मान्छेलाई आइडिया दिनुपर्छ जस्तो लाग्छ। अघिल्ला फिल्ममा थोरै आइडिया मात्रै दिएको थियौँ। यो पटक चाहिँ अलिक धेरै नै दिएका छौँ। तर ट्रेलरमा देखिए जति विषय मात्रै फिल्मको कथा हैन।
फिल्मको विषयवस्तु अलिकति खुलाउन सकिन्छ?
एउटा विदेश जान लागेको पात्र,उसले भोग्नुपर्ने समस्या र त्यसले उसको जीवनमा पार्ने प्रभाव नै फिल्मको विषय हो। उसले आइपर्ने दुखलाई पार लगाउने बाटो कसरी खोज्छ अनि पार लगाउन सक्छ कि सक्दैन भन्ने पक्षलाई रोचक तरिकाले देखाउने प्रयास गरेको छु।
‘दिमाग खराब’ राजनीतिक विषयमा बनेको फिल्म जस्तो देखियो। यसले सत्ताको दिमाग खराब गर्छ कि दर्शकको?
झर्को लागेर, झ्याउ लागेर, फिल्म हेर्न नसकेर, गाह्रो भएर दर्शकको 'दिमाग खराब' भयो भने चाहिँ बर्बाद भयो। तर, फिल्ममा देखाइएको विषयले बाँधेर राखिराख्यो भने र फिल्म हेरिसकेपछि एक किसिमको जोस दियो भने,एक किसिमको मजा दियो भने चाहिँ त्यो किसिमको दिमाग खराब राम्रो हो। हामीले दोस्रो प्रकारले दिमाग खराब गर्ने प्रयास गरेका छौँ।
अलि प्रश्न बुझाउन सकिन जस्तो लाग्यो। यो फिल्म हेरिसकेपछि नेता र दर्शकमध्ये कसको दिमाग खराब हुन्छ भन्न खोजेको।
यो भन्न मिल्दैन। फिल्म कुरौँ।
फिल्म रिलिज गर्न तिहार छान्नुको विशेष कारण छ कि?
विशेष कारण केही पनि छैन। लामो समयसम्म छुट्टी छ। फिल्म हेर्ने दर्शकको सङ्ख्या अलिक राम्रो हुन्छ। त्यही भएर फिल्मको प्रदर्शन तिहारमा राखेका हौँ। अरू केही छैन।
यो फिल्म किन हेर्ने?
ठ्याक्कै यही कारण त भन्न सक्दिन। तर एउटा राम्रो फिल्म हेरेर आनन्द लिने हो भने यो फिल्म हेर्न सकिन्छ। राम्रो फिल्म बनाउने प्रयास गरेका छौँ। अब दर्शकलाई फिल्म राम्रो लाग्छ कि लाग्दैन भन्ने त रिलिज भएपछि दर्शक अनि तपाईँहरूले भन्ने विषय हो।
कात्तिक १६, २०८० बिहीबार २१:०७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।