रिगलको जेल बसाई ११ वर्ष ११ महिना ५ दिन

रिगलको जेल बसाई ११ वर्ष ११ महिना ५ दिन

काठमाडौँ : सर्वोच्च अदालतले सरकारको सिफारिसमा योगराज ढकाल रिगलको बाँकी कैद कट्टा गर्ने निर्णय बदर गरेसँगै अब उनी पुन कारागार चलान हुने भएका छन्। सर्वोच्चले तत्काल पक्राउ गरी बाँकी कैद भुक्तानका लागि कारागार पठाउन आदेश दिएपछि उनलाई खोज्न प्रहरी परिचालित भइसकेका छन्।

बिहीबार आएको आदेशमा अब उनले भुक्तान गर्न बाँकी कैद सजायको अवधि समेत तोकिएको छ। आदेशमा उल्लेख भए अनुसार अब रिगल ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नेछन्। 

बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको स‌ंयुक्त इजलासले रिगलको कैद मिनाहाको निर्णय बदर गर्न परमादेश जारी गरेको हो। 

इजलासले ढकाललाई कर्तव्य ज्यान मुद्दामा बाँके जिल्ला अदालत र उच्च जिल्ला अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट  ठहर गरिएको जन्मकैदको सजायमध्ये भुक्तान गर्न बाँकी कैद सजाय कट्टा गर्नेगरी भएका काम कारबाही, राष्ट्रपतिबाट भएको निर्णय र सो सम्बन्धी पत्राचार समेत उत्प्रेषणको आदेशले बदर गरेको हो।

‘रिगललाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैद मध्ये असुल उपर हुन बाँकी देखिएको ११ वर्ष ११ महिना ५ दिन कैद कारागारमा राखेर कानुनबमोजिम असुल गर्नु भनी प्रत्यर्थीहरूमध्येका नाममा परमादेश जारी हुने ठहर्छ,’ आदेशमा भनिएको छ।

पूर्वपति चेतन मानन्धरको हत्यामा संलग्न  ढकालको बाँकी कैद कट्टीको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

२०७२ असार २८ गते मानन्धरको हत्या भएको थियो। मानन्धर हत्या अभियोगमा रिगललाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीकी इजलासले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

रिगल खोज्दै प्रहरी

सरकारको सिफारिसमा राष्ट्रपतिबाट बाँकी कैद कट्टा भएर रिहा भएका रिगल खोज्न प्रहरी परिचालित भएका छन्। अदालतबाट सरकारको निर्णय बदर भए लगत्तै पक्राउ गरेर कारागार चलान गर्न उनको खोजी सुरु भइसकेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले उकेरालाई जानकारी दिए।

‘अदालतको आदेश अनुसार अब उनलाई पक्राउ गरेर कारागारमा बुझाउँछौँ,’ कडायतले भने’ उनको खोजी भइसक्यो।'

कात्तिक १६, २०८० बिहीबार १६:२६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।