विवेकको पाँच छक्काबाट खुसी भएका प्रशिक्षक मोन्टीले भने’ हामीले एउटा अर्को खेलाडी भेट्टाएका छौँ’
काठमाडौँ : नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईँले टी-२० विश्वकपमा ओमानसँग पराजित भए पनि नेपाली टिमले विवेक यादवको रूपमा नयाँ खेलाडी पाएको प्रतिक्रिया दिए।
ओमानलाई पराजित गर्न अन्तिम ओभरमा २६ रन चाहिएको नेपालका लागि विवेकले लगातार ३ छक्का हानेर गुमिसकेको खेललाई लयमा ल्याउने प्रयास गरेका थिए। उनी चौथो बलमा आयान खानको हातबाट क्याच आउट भएपछि धर्मराएको प्रतियोगिताको अन्तमा एक बलमा छक्का हान्ने प्रयासमा क्याच आउटहुँदा नेपालले पाँच रनले खेल गुमाएको थियो।
समूह एको बिहीबारको खेलमा ओमानसँग ५ रनले हारेपछि नेपालले सेमिफाइनलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ।
यादवले ओमानसँगको प्रतिस्पर्धामा २४ बलमा ५ छक्का हानेर ३९ रन बनाएका थिए। आफूहरूले बनाएको योजना अनुसार खेल हुन नसक्दा ओमानसँग पराजित भएको र अब विश्वकप छनोटको सेमिफाइनलमा कमब्याक गर्ने बताएका देशाइँले बिहीबारको खेलबाट नेपाली टोलीले नयाँ बलियो ब्याट्सम्यान पाएको प्रतिक्रिया दिए।
‘नराम्रोमा पनि एउटा कुरा राम्रो हुन्छ,’ खेलको नतिजापछि उनले पत्रकारहरूसँग कुरा गर्दै भने’ हामीले एउटा अर्को खेलाडी भेटाएका छौँ। आज विवेकको अप्रोच देखेर निकै खुसी छु।’
ओमानसँगको हारले खेलाडी र आफू दुखित रहेको बताउँदै उनले २४ घण्टाको समयको सदुपयोग गर्दै खेल सुधारेर शुक्रवार मैदानमा उत्रिने बताए।
ओमानले २ पटक टी–२० विश्वकप खेलेकाले उनीहरूसँग विश्वकप खेलेको अनुभव रहेको बताए। बिहीबारको खेलमा नेपालको ब्याटिङ असफलहुँदा योजना विफल भएको मोन्टीले बताए। नेपालले युएईसँग शुक्रवार ११ बजे मूलपानीको क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछ।
कात्तिक १६, २०८० बिहीबार १५:१३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।