अभावै अभाव झेलिरहेको ‘बालुवाटार’
सुर्खेत : ‘बालुवाटार’ भन्नासाथ मुलुकको कार्यकारी प्रमुखको सरकारी निवास भन्ने बुझिन्छ। तर, यहाँ प्रदेश राजधानी वीरेन्द्रनगरदेखि करिब १० किलोमिटर पूर्व पट्टीको एक जंगलको छेउमा रहेकाे ‘बालुवाटार’ बस्तीकाे चर्चा हुँदैछ। हरेक हिसाबले अभाव झेल्दै आएको यो बस्ती समस्याको खानीका रुपमा परिचित छ।
काठमाडौंको ‘बालुवाटार’ सुविधासम्पन्न हुँदा यहाँको ‘बालुवाटार’ बस्ती भन्ने गरिवी, अशिक्षा र विकास निर्माणले पछि परेको छ। वीरेन्द्रनगर नगरपालिका-११ स्थित यो बस्तीमा हुनेखाने होइन, हुँदा खाने मानिसहरू बस्छन्। त्यसभित्र पनि दलित समुदायको बाहुल्यता बढी छ।
बालुवाटारमा २६ घरधुरी छन्। जसमध्ये तीन घरधुरी मात्रै गैर दलित समुदायका छन्। १५० कुल जनसङ्ख्या भएको यो बस्तीमा ९८ प्रतिशत दलित समुदायको बसोवास छ। एक सयको हाराहारी मतदाता रहेको यो बस्तीमा नजिकमा वडा कार्यालय छैन। वडा कार्यालय पुग्न एक घण्टा पैदल हिँड्नुपर्छ बालुवाटार बासीले। सामान्य टाउको दुखेर सिटामोल ल्याउन पनि चार/पाँच सय रूपैयाँ खर्च गरेर वीरेन्द्रनगर बजार आउनुपर्छ। राजधानीमै रहेको यो बस्तीका नागरिकले राज्यबाट पाउने आधारभूत सेवा/सुविधा पाउन समेत मुस्किल पर्छ।
नाम सुन्दा काठमाडौं बालुवाटार सुनिए पनि यहाँको पीडा व्यथा भने हकै मूलकको जस्तो रहेको स्थानीय अगुवा कर्णबहादुर गन्धर्वले बताए।‘यहाँ वडा कार्यालय जान पनि एक घण्टा लाग्छ। बालबालिकाले पढ्न पनि ४०/४५ मिनेट जंगलको बाटो हिँड्नुपर्छ,’ कर्णबहादुरले भने, ‘नजिक स्वास्थ्य संस्था पनि छैन। आधा बाटो हिँडेर त्यसपछि चार/पाँच सय रूपैयाँ अटोमा खर्च गरेर सिटामोल ल्याउनुपर्ने अवस्था छ।’
सामुदायिक वन छेउको बस्ती भएकाले अहिलेसम्म पनि जग्गाको नापजोख नभएको कर्णबहादुरको भनाई छ। उनका अनुसार एक गैरसरकारी संस्थाको सहयोगमा विद्युत पुगे पनि सडक र जग्गाको लालपूर्जा छैनन्। विशेषगरी बालविवाह, गरिवी, बेरोजगारी, अशिक्षा र स्वास्थ्य बालुवाटारका प्रमुख समस्या हुन्।
वर्षौदेखि बसिरहेको थातथलोको लालपूर्जा नबन्दा अहिलेसम्म यहाँका नागरिक जमिनको हकवाला बन्न पाएका छैनन्। यहाँको एक मात्र आयआर्जनको स्रोत भनेको नजिकै बगिरहेको झुप्रा खोला हो। जहाँबाट बालुवा निकालेर आयआर्जनको रुपमा लिने गरेका छन्।
पछिल्लो समय त नगरपालिकाले बालुवा चालेर बेच्न नपाउने भएपछि स्थानीयको दैनिकीमा झड्का लागेको स्थानीय तुलसी बैगारले बताइन्। ‘पहिला बालुवा बेचेर जिविका चलाउँथ्यौँ। अहिले त नगरपालिकाले ठेक्कामा दिएपछि त्यही पनि बन्द भयो,’ ४६ वर्षीय उनले भनिन्, ‘श्रीमान् पनि दोस्रो विवाह गरेर बेपत्ता छन्। सात सन्तानको पालनपोषण मैले नै गर्नुपर्छ। अहिले त साँझ बिहानको छाक टार्न पनि मुस्किल भएको छ।’
तुलसीलाई मात्रै होइन, बालुवा बेच्न नपाउँदा यो बस्तीका अधिकांश घरपरिवारलाई छाक टार्न मुस्किल भएको छ। यो बस्तीमा कक्षा १२ पास गरेका जम्मा दुई जना व्यक्ति मात्रै छन् । १० कक्षा पास गरेका चार जना छन्। धेरैले चार/पाँच कक्षा पढ्दा सानै उमेरदेखि नै पढाई छोडेर स्थानीयस्तरमा र भारततिर जान्छन्।
१० र १२ कक्षा पास गरेकाहरू पनि भारततिर नै छन्। आर्थिक अवस्था कमजोर भएकै कारण पढाइलाई अगाडि बढाउन नसकेको कक्षा १२ पास गरेर बसेका गोकर्ण गन्धर्वले बताए।
‘साँझ बिहान त के खाऊँ भन्ने छ? कक्षा १२ पढेर पनि केही काम पाउन सकेको छैन । कसरी उच्च शिक्षा पढ्ने?,’ २२ वर्षीय गोकर्णले भने, ‘मसँगका साथीहरू त सबै भारत कोही काठमाडौंका त कोही विदेशमा काम गर्छन्।’ शैक्षिक सामग्री र विद्यालय पोसाक नहुँदा छोराछोरीलाई स्कुल पठाउन नसकिएको ५२ वर्षीय विर्मा दमाईले सुनाइन्।
‘सम्पत्ति भने पनि सुविधा भनेपनि यिनै झुप्रा हुन्। धेरै उत्पादन हुने जमिन पनि छैन,’उनले भनिन्, ‘सबथोक किनेर खानुपर्छ। कापी-कलम र ड्रेस नहुँदा छोराछोरीलाई स्कुलमा पठाउन सकिएको छैन।’
बालुवाटार बस्तीका लागि सरकारले आयआर्जनसँगै रोजगारीका कार्यक्रमहरू ल्याइदिन स्थानीयले अनुरोध गरेका खानेपानी र सडकको काम यसै वर्षभित्र सम्पन्न गर्नेगरी योजना बनाएको वीरेन्द्रनगर-११ का वडाअध्यक्ष खिमलाल देवकोटाले बताए।
‘बालुवाटारलाई व्यवस्थित गर्न म निर्वाचित भइ सकेपछि अधा बाटोसम्म कच्ची सडक पुर्याइएको छ। केही समयमा खानेपानीको कामलाई पनि सुरु गर्नेछौँ,’ वडाअध्यक्ष देवकोटाले भने।
कात्तिक १६, २०८० बिहीबार ०७:५७:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।