एउटै गीतबाट ३६ लाख कमाउँदा पनि पैसा पुगेन गायक प्रकाश सपुतलाई

एउटै गीतबाट ३६ लाख कमाउँदा पनि पैसा पुगेन गायक प्रकाश सपुतलाई

काठमाडौँ : गायक प्रकाश सपुतको गीतको भिडियो हेर्यो भने जताततै विज्ञापन राखेका हुन्छन्। त्यो विज्ञापन उनले सित्तैमा गरेका हैनन्। राम्रै पैसा लिन्छन्। लिनु सामान्य नै हो। उनले जुन गीतको म्युजिक भिडियो बनाउँछन् लगभग त्यसको खर्च चलाखीसाथ भिडियोमा राखिने विज्ञापनले धान्छ नै।

अनि उनको एउटा गीतले युट्युबबाट सरदर २० लाख बढी नै कमाउँदै रहेछ। तै पनि उनी भने कमाई नै भएन भन्दै असन्तुष्ट देखिए।

उनले नै सार्वजनिक गरेको आम्दानी विवरण अनुसार गलबन्दी बोलको गीतबाट युट्युबबाटै ३६ लाखसम्म कमाई भयो उनको। उनको यो गीतको भ्युज ५ करोड बढी छ।

‘म जति काम गर्छु,जुन एभरेजमा म खट्छु नि, मेरो कमाई एकदम कम हो जस्तो लाग्छ,’उनले भने,‘म किन पनि कन्भिन्स छु भने मेरो बजार नै सानो छ नि।’

अर्को हिट गीत ‘सकम्बरी’ले युट्युबबाटै २२ लाख माथिको कमाई दिइसकेको उनैले स्विकारे। यो गीतको भिडियो बनाउँदा १६ लाख रूपैयाँ खर्च गरेर २२ लाख कमाई हुनु थोरै भएको बताए उनले। अब गीत चलेपछि स्टेज कार्यक्रमबाट कमाएको छाडौँ, उनले विज्ञापन राखे बापत पाएको पैसाको विवरण समेत लुकाए।

 ‘१६ लाख रूपैयाँ गीतमा खर्च गरेर पाँच छ महिना लगाएर यत्रो भ्युअर्स जाँदा जाबो २०,२२ लाख रूपैयाँ कमाउँछ,’उनले भने,‘यो त युट्युबबाट मात्र निकै कम भो नि?’

अर्को गीत ‘कुरा बुझ्नुपर्छ’ले पनि १५ हजार डलर अर्थात् सालाखाला १७ लाख जति दिइसकेछ उनलाई। नेपाली गायक-गायिकाले गीत निकालेपछि जुन रूपमा कमाइरहेका छन् त्यसको दाँजोमा प्रकाशको कमाइ आकर्षक हो। तर पैसा हो नि जति कमाए पनि कहाँ चित्त बुझ्छ र! अनि प्रकाश साधु हुन् र!

कात्तिक १५, २०८० बुधबार २२:५५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।