भारती इजलासमा रोएपछि न्यायाधीश मल्लले भनिन्’ यहाँ रुन पाइँदैन,अप्ठेरो भए बाहिर जानु

भारती इजलासमा रोएपछि न्यायाधीश मल्लले भनिन्’ यहाँ रुन पाइँदैन,अप्ठेरो भए बाहिर जानु

काठमाडौँ : सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएर रिहा भएका रिगल भनिने योगराज ढकालबारे जारी बहसकोक्रममा बुधवार रिटकर्ता भारती शेर्पा इजलासमै रोइन्। रुनुको कारण ढकालको पक्षका बहसकर्ताले उनलाई चेतन मानन्धरकी पूर्व पत्नी भन्नु।

वरिष्ठ अधिवक्ता लवप्रसाद मैनालीले बहसकोक्रममा रिटकर्ता चेतनको पूर्व पत्नी भएकाले रिट बोकेर आउने हकदैया नै नभएको जिकिर गरेका थिए। चेतनको हत्यापछि उनले दोस्रो विवाह गरेकी थिइन्। उनले रिटमै आफ्नो परिचय मृतक चेतन मानन्धर पूर्व पत्नीको रूपमा उल्लेख गरेकी थिइन्। त्यसैलाई आधार बनाएर मैनालीले पूर्व पत्नीलाई मुद्दा ल्याउने हकदैया नपुग्ने भनेर बहस गरे।

उनले पूर्व पत्नी भनेपछि उनी इजलासमै रोएकी थिइन्। इजलासमा उनी रोएको देखेपछि इजलासमा रहेकी न्यायाधीश सपना प्रधान मल्लले बहस सुन्न अप्ठेरो भए बाहिरै बस्नु भन्दै इजलासमा रुन नपाइने भनिन्।

२०७२ असार २८ गते बाँकेको नेपालगन्ज–१६ को मुख्य सडकमै ज्योति सिम्ताली होटेल अगाडि रिगलसहितको करिब १५ जनाको समूहले खुँडाले हानेर मानन्धरको हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

उनी २०७२ भदौ ७ गते पक्राउ परे थिए। तोकिएको सजाय अनुसार २०९२ भदौ ६ गतेसम्म उनी जेलमा हुन्थे। तर तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद कट्टी गरेकाहरूमध्ये रिगल पनि थिए।

बुधबार अदालतमा सुनुवाई सकिएकाले बिहीबार फैसला आउने सम्भावना छ।

कात्तिक १५, २०८० बुधबार २२:२५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।