सार्वजनिक जग्गामा बनेको शिवालय डोजर लगाएर भत्काइयो, विरोधमा देविनगरका स्थानीय
बुटवल : बुटवल उपमहानगरपालिका-११ देवी नगरमा सार्वजनिक सम्पत्तिमाथि व्यक्तिले डोजर चलाएका छन्। ‘सार्वजनिक जग्गामा’ बनेको मन्दिरको संरचनामा स्थानीय केही व्यक्तिले आफ्नो जग्गा भन्दै गत कार्तिक ६ गते विहान डोजर लगाएर संरचना भत्काएका हुन्।
‘सार्वजनिक जग्गामा’ बनेको शिवालय मन्दिरको संरचना डोजर लगाएर भत्काएपछि स्थानीयले विरोध गरेका छन्।
स्थानीयले उक्त जग्गा सार्वजनिक जग्गा भएको भन्दै व्यक्तिले हडप्ने हुँदा संरक्षण गर्ने भन्दै त्यहाँ शिवालयको मन्दिर निर्माण गरेका थिए।
सोही संरचनामा कार्तिक ६ गते विहान सवा ६ बजे डेढ सय बढिको संख्यामा स्काभेटर लगेर पुगेको समूहले मन्दिरको संरचनामा डोजर चलाएको स्थानीयको भनाई छ।
देवीनगर चौरालीपथको पश्चिमतर्फ रहेको ‘सार्वजनिक जग्गा’लाई आफ्नो दाबी गर्दै बालकृष्ण विश्वकर्मा र भिमबहादुर अधिकारीले डोजर लगाएको चौराली पथका अध्यक्ष लोकप्रसाद पङ्गेनीले बताए।
‘एकाबिहान लु १ ख ४३४२ नम्बरको जेसिबी आएर मन्दिरको संरचनामाथि नाचिरहेको थियो। कोही बोल्न नसकोस भनेर करिब डेढ दुई सय जना युवाहरूको जत्था लिएर उनीहरू आएका थिए।’–पङ्गेनीले भने, ‘हामी उठेर हेर्न आउँदा लाखौँको संरचना नष्ट भइसकेको थियो, डोजर अघि गएर उभिएपछि शिवालय मन्दिर भने बचाउन सक्यौँ।’
स्थानीयको चन्दाबाट निर्माण भएको मन्दिरमा डोजर लगाएर संरचना नष्ट गर्दा २० लाख बढीको क्षति भएको उनको भनाइ छ।
यसअघिका उक्त जग्गा धनी लालबहादुर पुनले पूर्व तर्फबाट जग्गा नाप्दै आउँदा पश्चिमतर्फको १८ धुर जग्गा छुट भएको र उक्त जग्गा आफूले समेत दाबी नगरी टोल संस्थालाई दिएको उल्लेख गरे।
भिमबहादुर र बालकृष्णले दाबी गरेजस्तो उनीहरूले जग्गाको कित्त नम्बर नै छुट्टिएकाले दाबी गर्न नमिल्ने उल्लेख गरे। सार्वजनिक जग्गा भएकै कारण लामो समयदेखि टोलवासीले संरक्षण गरेर राखेको अवस्थामा एक्कासि डोजर चलाएर लाखौं रकम क्षति गर्नु निन्दनीय भएको स्थानीय पर्शुराम अर्यालले बताए।
दशैँ मनाउन मानिसहरू गाउँ गएको मौका छोपी नवमीका दिन कोही नभएको मौका छोपी एकाबिहान मन्दिरको संरचना भत्काइएको उनले बताए।
दक्षिण मोहडाको कित्ता नम्बर ४६८७ र ४७८३ को जग्गा भएका बालकृष्ण र उत्तरतर्फ मोहडा भएको कित्ता नम्बर ४६८६ नम्बरको जग्गा भएका भिमबहदुरले भने आफ्नो जग्गा रङ्गशाला मार्गसँग जोडिएको भन्दै पश्चिमतर्फको जग्गा दाबी गर्दै आएका छन्।
ब्लु प्रिन्टमा समेत कित्ता छुट्याउनु अघि रहेको कित्ता नम्बर ५७० नम्बरको जग्गा रङ्गशाला मार्गसँगै जोडिएको हुँदा आफूहरूको जग्गाको पश्चिम मोहडा भएको दाबी गरे।
उनले आफूहरूले घर निर्माणका लागि उपमहानगरपालिकाबाट नक्सा पास पनि प्राप्त गरिसकेको र पटक–संरचना हटाउन आग्रह गर्दा पनि भएपछि डोजर लगाउन बाध्य भएको उल्लेख गरे।
जग्गा विवाद बारे बुटवल उपमहानगर-११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले अन्तिम नाप जाँच गरेर मात्रै टुङ्गो लगाइने बताए।
‘बुटवल उपमहानगरले तिहारपछि मात्रै नाप जाँच सुरु गर्छ सोही अनुसार कसको जग्गा कुन हो भन्ने टुङ्गो लाग्छ त्यसपछि मात्रै कारबाही प्रक्रिया अघि बढ्छ’, क्षेत्रीले भने।
हाललाई उक्त जग्गाका कुनै पनि संरचना निर्माण तथा किनबेचका लागि रोक्का लगाइएको उनले बताए। सार्वजनिक भनिएको जग्गामा संरचना निर्माणका लागि वडाबाट समेत बजेट विनियोजन गरी मन्दिर निर्माण गरिएको थियो।
कात्तिक १५, २०८० बुधबार १८:१४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।