गुण्डा नाइके ‘रिगल’ विरुद्धको मुद्दामा सर्वोच्चले भोलि निर्णय सुनाउने

गुण्डा नाइके ‘रिगल’ विरुद्धको मुद्दामा सर्वोच्चले भोलि निर्णय सुनाउने

काठमाडौं : खुँडा प्रहार गरि व्याक्ति हत्या गर्ने योग ढकाल ‘रिगल’लाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ।

प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीशहरु सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासले बिहीबार निर्णय सुनाउने आदेश दिएको सर्वोच्च अदालतका  सहायक प्रवक्ता गोविन्द घिमिरेले बताए।

बाँकेका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमाथि मंगलबार र बुधबार सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो।

सर्वोच्चले रिगललाई पुन: थुनामा पठाउने कि सरकारले दिएको माफी सदर गर्ने भन्नेबारे निर्णय सुनाउनेछ। यदि सर्वोच्चले राष्ट्रपतिले दिएको सजाय माफी गलत ठहर गर्यो भने रिगल पुन: पक्राउ पर्नेछन्। उनलाई बाँकी कैदका लागि थुनामा राखिनेछ। 

अभियुक्त ढकालले नेपालगन्ज-८ का मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेकोमा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। घटनामा दोषी ठहर भएका अन्य १२ जनालाई ३ वर्षदेखि १० वर्षसम्मको सजाय भएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा गुण्डा नाइके रिगलसहित छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेका थिए।

रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरूद्ध  चेतनकी पत्नी भारतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन्।

कात्तिक १५, २०८० बुधबार १७:१४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।