नेपालको पूर्वाधार विकासमा लगानी गर्न अन्तर्राष्ट्रिय समूदायसँग अध्यक्ष ढकालको आग्रह

नेपालको पूर्वाधार विकासमा लगानी गर्न अन्तर्राष्ट्रिय समूदायसँग अध्यक्ष ढकालको आग्रह

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह गरेका छन्।

बेलायतको लन्डनमा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ठूला पूर्वाधार विकासका लागि नेपालले थप बाह्य पुँजी खोजिरहेकाले विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपाल आकर्षक लगानीस्थल रहेको बताए।

जलविद्युत्लाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णयबारे अध्यक्ष ढकालले बढ्दो भारतीय बजारले जलविद्युत् आयोजनामा लगानीको थप अवसर प्राप्त भएको प्रस्ट पारे। 

अध्यक्ष ढकालले भने, ‘दुई ठूला आकर्षक ऊर्जा बजार लक्षित नेपालको जलविद्युत्मा लगानी र सहकार्यका लागि बेलायती लगानीकर्ताहरूका साथै बहुपक्षीय र द्विपक्षीय विकास साझेदारहरूलाई विशेष आमन्त्रण गर्दछु।’

नेपाल बेलायती पर्यटकका लागि पहिलेदेखि नै लोकप्रिय गन्तव्य रहेको उल्लेख गर्दै उनले थप पर्यटकहरूलाई स्वागत गर्न तयार र उत्साहित रहेको बताए।

बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा गरेको लगानीबाट उच्च प्रतिफल प्राप्त गरिरहेकाले उत्पादन, कृषि प्रशोधन, आइसिटीसहित अन्य क्षेत्रमा लगानी बढाउन पनि अध्यक्ष ढकालले आग्रह गरे।

उनले निर्यात बजार विस्तार भइरहेको र विभिन्न मुलुकसँग सहुलियतपूर्ण व्यापार सम्झौताहरू समेत भएकाले नेपालमा निर्यात केन्द्रित लगानीको अवसर रहेकोतर्फ लगानीकर्ताको ध्यानाकर्षण गराए।

लगानीका अवसरहरूको खोजी गर्न र लगानीमा हुने अवरोध हटाउन महासङ्घले लगानीकर्तालाई सहयोग गर्न संरचना तयार गरेको जानकारी दिँदै अध्यक्ष ढकालले विश्वस्त भएर नेपालकमा लगानी गर्न आह्वान गरे।

कात्तिक १५, २०८० बुधबार १६:५६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।