प्रिन्सिपल रुपेश स्वर्णकार हत्याकाण्ड : गोली हान्न पेशेबर सुटर प्रयोग, पूर्व प्रमिकासहित  हत्यामा संलग्न ५ जना सार्वजनिक

प्रिन्सिपल रुपेश स्वर्णकार हत्याकाण्ड : गोली हान्न पेशेबर सुटर प्रयोग, पूर्व प्रमिकासहित  हत्यामा संलग्न ५ जना सार्वजनिक

बारा : बाराको कलैया उपमहानगरपालिका–६ मदरसामा बोडिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्नलाई पाँच जनालाई प्रहरीले आज (वुधबार) सार्वजनिक गरेको छ।

बुधबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न मुख्य योजनाकारसहित पाँच जनालाई सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-२ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह रहेकोे प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । 

राधा उक्त स्कुलकी पूर्व लेखापाल हुन्। उनी र स्वर्णकारबीच प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले जनाएको छ।  हत्याका मुख्य योजनाकार भारतीय नागरिक मनोज गुप्ता भने फरार रहेको प्रहरीले प्रहरीले जनाएको छ। 

हत्या प्रकरणको मुख्य कारण प्रेम सम्बन्ध रहेको प्रहरी जनाएको छ।  स्वर्णकारलाई गोली हान्ने व्यक्ति पेशेबर सुटर रहेको पनि प्रहरीले जनाएको छ। 

‘विशेषगरी यो घटनामा ८ जना व्यक्ति प्रत्यक्ष संलग्न भएको देखिएको छ। त्यसमध्येका पाँच जना पक्राउ परेका छन्। बाँकीको खोजतलास भइरहेको छ’, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक काफ्लेले पत्रकार सम्मेलनमा भने, ‘घटना हुनुमा महिलासँगको सम्बन्धको रिसइवी देखिन्छ।’

सोमबार दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए। 

टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा  वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो।

कात्तिक १५, २०८० बुधबार १६:०४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।