हिमालयन बैङ्क विवाद उच्च अदालत पुग्यो, सर्वसाधारणको तीन प्रतिशत सेयर बढाउन माग

हिमालयन बैङ्क विवाद उच्च अदालत पुग्यो, सर्वसाधारणको तीन प्रतिशत सेयर बढाउन माग

काठमाडौँ : बैङ्कको सर्वसाधारण सेयरधनीको अनुपात राष्ट्र बैङ्कको नियम अनुसार ३० प्रतिशत नपुर्याई साधारण सभा गर्न लागेको भन्दै हिमालयन बैङ्कको एक पक्ष अदालत गएको छ। सञ्चालकभित्रबाट तयारी भइरहेको सभा रोक्न माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको हो।

बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार बैङ्कको कुल सेयर पुँजीमा सर्वसाधारण सेयरधनीको अनुपात ३० प्रतिशत हुनुपर्ने व्यवस्था भए पनि हिमालयन बैङ्कमा अहिले २७ प्रतिशत मात्रै छ। तीन प्रतिशत सेयर नबढाइ साधारण सभा गर्ने तयारी भएपछि उच्चमा रिट परेको हो।

रिटमा सर्वसाधारण सेयरधनीको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत हुने गरी बैङ्कको पुँजी संरचनालाई व्यवस्थित गरेर मात्रै साधारण सभा गर्न र सर्वसाधारणबाट सञ्चालक चयन गर्न माग गरिएको छ।

हिमालयन बैङ्कमा निजी क्षेत्रबाट मनोजबहादुर श्रेष्ठ, प्रेमप्रकाश खेतान, हिमालयशमशेर राणा र हबिब बैङ्क अफ पाकिस्तानका प्रतिनिधि सलीम अम्लानी संस्थापक सेयर धनी हुन्। यी ४ संस्थापक सेयर धनीबाहेक बैङ्कमा कर्मचारी सञ्चय कोष तथा सर्वसाधारणको समेत सेयर हिस्सा रहेको छ।

हिमालयनमा अहिले प्रचण्डबहादुर श्रेष्ठ अध्यक्ष छन्। सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आषिश शर्मा, विजयबहादुर श्रेष्ठ, राधाकृष्ण पोते लगायत निर्देशक छन्।

 

 

कात्तिक १५, २०८० बुधबार १३:१६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।