गुण्डा नाइके ‘रिगल’विरुद्धको मुद्दामा सुनुवाइ सुरु, आजै फैसला आउने

गुण्डा नाइके ‘रिगल’विरुद्धको मुद्दामा सुनुवाइ सुरु, आजै फैसला आउने

काठमाडौं : खुँडा प्रहार गरी व्यक्ति हत्या गर्ने गुण्डा नाइके योगराज ढकाल ‘रिगल’लाई सरकारले दिएको माफीविरुद्ध परेको  मुद्दामा सुनुवाइ सुरु भएको छ। 

मंगलबार बहस नसकिएपछि हेर्दाहेर्दैका लागि राखिएको  मुद्दामा सर्वोच्चमा सुनुवाइ सुरु भएको हो। 

न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा,सपना प्रधान मल्ल र कुमार चुडालको पुर्ण इजलासमा सुनावाइ भइरहेको छ। 

भारती शेर्पाले दायर गरेको रिटमा निवेदकको बहस सकिएर सरकारी पक्षले बचाउ बहस गरिरहेको छ। नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले मंगलबारको निरन्तर बहस सुरु गरेका छन्। 

उनीपछि रिगल, राष्ट्रपति कार्यालय सहित प्रतिवादीका कानुन व्यवसायीहरुले बहस गर्नेछन्। उनीहरुको बहसपछि निवेदकले जवाफी बहसका लागि केही समय पाउनेछन्। 

जवाफी बहस आजै सकेर फैसला सुनाउने सर्वोच्चको तयारी छ। 

सर्वोच्चले रिगललाई पुन थुनामा पठाउने कि सरकारले दिएको माफी सदर गर्ने भन्नेबारे निर्णय सुनाउनेछ। यदि सर्वोच्चले राष्ट्रपतिले दिएको सजाय माफी गलत ठहर गर्यो भने रिगल पुन: पक्राउ पर्नेछन्। उनलाई बाँकी कैदका लागि थुनामा राखिनेछ। 

२०७२ साल असार २८ गते नेपालगन्जको व्यस्त बजार धम्बोझीचोक नजिकै दिनदहाडै खुँडा प्रहार गरी २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा गुण्डा नाइके योग ढकाललाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाइएको थियो।

अभियुक्त ढकालले नेपालगन्ज-८ का मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेकोमा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। घटनामा दोषी ठहर भएका अन्य १२ जनालाई ३ वर्षदेखि १० वर्षसम्मको सजाय भएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा गुण्डा नाइके रिगलसहित छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेका थिए।

रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरूद्ध  चेतनकी पत्नी भारतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन्।

कात्तिक १५, २०८० बुधबार ११:४५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।