प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्नलाई आज सार्वजनिक गर्दै प्रहरी

प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्नलाई आज सार्वजनिक गर्दै प्रहरी

काठमाडौं : बाराको कलैया उपमहानगरपालिका-६ मदरसामा बोडिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्नलाई प्रहरीले आज (वुधबार) सार्वजनिक गर्दैछ।

प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्नलाई दिउँसो १ बजे सार्वजनिक गरिने बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।

स्वर्णकारको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिएको छ। 

अनुसन्धानका क्रममा हत्यामा संलग्नता पुष्टि भएकाहरूलाई वुधबार दिउँसो १ बजे सार्वजनिक गरिने काफ्लेले जानकारी दिए। 

सोमबार दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए। 

टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा  वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो।

उनको हत्याको कारण विवाहोत्तर सम्बन्ध भनिएको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले दिएको जानकारीअनुसार पक्राउ परेकी महिला राधा गुप्ता हुन्। उनी मदरसा टोलमै बसोबास गर्छिन्।

पक्राउ परेका अर्का व्यक्ति भारतीय नागरिक मनोज गुप्ता छन्। राधा उक्त स्कुलकी पूर्वलेखापाल हुन्।

उनी र स्वर्णकारबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। प्रिन्सिपल स्वर्णकार विवाहित हुन्। उनका दुई छोरा छन्।

हत्याबारे विस्तृत रुपमा प्रहरीले सम्मेलनमा जानकारी दिनेछ। 

कात्तिक १५, २०८० बुधबार १०:१८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।