भैरहवा मेडिकल कलेजमा ‘सर्टको गोजी र कुर्था सुरुवाल’को माग सम्बोधन हुँदै, प्रिन्सिपललाई हटाउन नसकिने प्रशासनको धारणा
बुटवल : सामान्य विषयलाई तत्काल निर्क्यौल गर्न भैरहवास्थित नसक्दा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो मेडिकल कलेज युनिर्भसल मेडिकल कलेज (युसिएमएस)का विद्यार्थीहरू तीन सातादेखि आन्दोलित छन्।
कलेजकी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकको राजीनामालाई मुख्य शर्त बनाएर विद्यार्थीहरू आन्दोलित भए पनि कलेज प्रशासनले प्रिन्सिपललाई हटाउने बाहेकका अन्य माग सम्बोधन गर्न सकिने ‘धारणा’ सार्वजनिक गरेको छ।
ड्रेस कोर्ड (पोशाक) कलेजले लागू गर्ने सूचना जारी भएपछि त्यहाँ कार्यरत विद्यार्थीहरूले छात्रको सर्टमा गोजी हुनुपर्ने र छात्राको हकमा पाइन्ट सर्टको सट्टा कुर्ता सुरुवाल हुनेपर्ने माग प्रिन्सिपल पाठक सामु राखेका थिए।
तर, विद्यार्थीमाझ ‘नझुक्ने’ बताउँदै प्रिन्सिपल पाठकले जारी सूचनालाई जसरी पनि कार्यान्वयन गर्ने भन्दै अड्डी कसेपछि स्थिति बिग्रिएको थियो। कलेजभित्र प्रहरी र विद्यार्थीहरू बीच झडपको स्थितिसमेत बनेको थियो।
त्यसअघि असोज २२ विद्यार्थीहरूले युसीएमएसका प्राचार्य प्रा.डा. लक्ष्मी पाठकलाई माग सम्बोधन गर्दै उनको कार्यकक्ष बाहिर धर्ना सुरु गरेका थिए। तर, त्यहि धर्नालाई प्राचार्य पाठकले नजरबन्द गरेको भनेर प्रचार गरेकी थिइन्।
२८ असोजपछि विद्यार्थीहरूले प्रमुख कार्यकारी प्रमुख कक्ष, प्राचार्य कक्ष, सह–प्राचार्य कक्ष, मेडिकल सुपरिटेन्डेन्ट कक्ष, इन्टर्नसिप संयोजक कक्ष, लेखा शाखा तथा मानव संशाधन शाखामा तालाबन्दी गर्दै आन्दोलन चर्काएका थिए।
आन्दोलनपछि विद्यार्थीहरूको माग सम्बोधन गर्न असोज २४, २५, कार्तिक २ र १० गते वार्ता समितिबाट छलफल भए पनि सबै विद्यार्थीहरूमाझ बैठक बस्नुपर्ने विद्यार्थीहरूको उडानले अहिलेसम्म ‘ठोस’ समाधान निस्कन नसकेको प्रशासनले जनाएको छ।
तर, विद्यार्थीहरूले भने राजीनामा आफूहरूको मुख्य शर्त भएको बताउँदै आएका छन्।
विद्यार्थीका माग र सम्बोधनबारे प्रशासनले के भन्यो?
विद्यार्थीहरूले पहिलो माग नै प्रिन्सिपलको राजीनामा भएपछि प्रशासनले भने विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग, काउन्सिलको ऐन नियम भित्र रही कलेजले प्राचार्य नियुक्ति गर्ने भएकोले व्यक्ति परिवर्तन नहुने बताएको छ।
यद्यपि विद्यार्थीबाट उठान गरिएका विषयहरूलाई गम्मीरताको रूपमा लिई भविष्यमा कुनै असर पर्न नदिन कलेज प्रशासन सचेत रहने सतही प्रतिवद्धता व्यक्त गरेको छ।
त्यस्तै नयाँ ड्रेस कोड लागू नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने मागमा प्रशासनले उक्त ड्रेस कोडको निर्णय हाललाई स्थगन गर्ने लिखित सम्झौता भइसकेको बताएको छ।
कलेजका प्रमुख कार्यकारी अधिकृत अजयकुमार पी.एसले स्थानीय प्रशासनको अगुवाइमा असोज २७ गते शनिबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले नयाँ ड्रेस कोर्डको निर्णय हाललाई स्थगन गर्ने निर्णय गरेको बताए।
त्यस्तै इन्टर्नसीप स्टाइपेन्ड अभिवृद्धिपछि इन्टर्नसीप अभिमुखिकरणको सुरुवात गर्नुपर्ने मागमा छात्रवृत्तिकोे सम्बन्धमा समिति गठन गरि विभिन्न मेडिकल कलेजहरूको अवस्था अध्ययन गरि पेश गरिएको रिपोर्टका आधारमा गर्न प्रशासन तयार रहेको उनले बताए।
नियमित र अन्य परीक्षामा प्रतिबन्ध लगाउने तथा पुरक परीक्षाअघि पनि बिदा पाइने गरि पोष्टिङको तालिका परिमार्जन गर्नुपर्ने विषय चिकित्सा शिक्षा प्रतिष्ठान (आईओएम)को व्यवस्थाअनुसार हुने सहमति भएको उनले जानकारी दिए।
विद्यार्थीको आन्दोलनबाट अस्पतालमा आकस्मिक बाहेकको उपचार सेवा ठप्प छ भने त्यहाँ अध्ययन गर्ने एमबीबीएस र बीडीएसका सात सय विद्यार्थीको पढाइ पनि प्रभावित भएको छ।
अस्पतालमा एक सय इन्टर्नसीप र डेढ सय जना रेजिडेन्स चिकित्सक छन्।
कात्तिक १५, २०८० बुधबार ०९:५३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।