२०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने पक्का

२०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने पक्का

एजेन्सी : फिफा विश्वकप २०३४ साउदी अरेबियामा हुने पक्का भएको छ।

विश्वकप आयोजना गर्नका लागि साउदीको मात्र आधिकारीक दावी प्रस्तुत गरेपछि विश्वकप साउदीले आयोजना गर्ने पक्का भएको हो।

अस्ट्रेलियाले अन्तिम समयमा पेश नगरेपछि यो निर्णय सम्भव भएको हो।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो इन्स्टाग्राम मार्फत यसबारे जानकारीसमेत गराएका छन्।

‘फुटबलले विश्वलाई अन्य कुनै खेलजस्तो एकतावद्ध गर्दछ, विश्वकप एकता र समावेशीकरणको सन्देशको लागि उत्कृष्ट माध्यम हो’, उनले लेखे ‘साथै विभिन्न संस्कृतिहरू कसरी सँगै हुन सक्छन् र एकअर्कालाई राम्रोसँग सिक्न र बुझ्न सक्छन् भन्ने महत्त्वपूर्ण दृष्टान्त प्रदान गर्दछ।’

कुनै भोटिङ वा दोस्रो दावी नभए तापनि उनले साउदीले विश्वकप आयोजना गर्ने निर्णय ‘रचनात्मक संवाद र व्यापक परामर्श’का साथ गरिएको बताएका छन्।

२०२२ मा कतारमा भएको विश्वकप जस्तै नोभेम्बर महिनामा २०३४ को विश्वकप हुने धेरैले आँकलन समेत गर्न थालिसकेका छन्। यसले गर्दा युरोपेली फुटबल संरचनाले आफ्नो तालिका पुनः परिवर्तन गर्नुपर्ने हुन्छ।

२०२६ को विश्वकप क्यानाडा, अमेरिका र मेक्सिको तथा २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा हुनेछ।

यसका साथै विश्वकप सुरुवात भएको १०० वर्ष मनाउन २०३० संस्करणमा अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा पहिलो तीन खेल हुने समेत फिफाले बताएको छ।

कात्तिक १५, २०८० बुधबार ०९:०४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।