राष्ट्रपतिले आममाफी दिएका रामचन्द्र ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ

राष्ट्रपतिले आममाफी दिएका रामचन्द्र ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि कैद मुक्त भएका एक व्यक्ति अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा चितवनमा एक जना पक्राउ परेका छन्। 

गत जेठ १४ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि कैद मुक्त भएका रामचन्द्र थापा पक्राउ परेका हुन्।

भरतपुर महानगरपालिका-१ मा धनवन्तरी क्लिनिक सञ्चालन गर्दै आएका सोमराज सुवेदी र उनका छोराको हत्या तथा अपहरण गर्ने धम्की दिई २५ लाख रुपैयाँ फिरौती माग गर्ने ५५ वर्षीय थापा पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पछिल्लो पटक २०७५ मंसिर १३ गते उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा डाँकासम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो।

उक्त मुद्दामा चितवन जिल्ला अदालतले उनलाई ९ वर्षको कैद सजाय तोकेको थियो। राष्ट्रपतिबाट आममाफी पाएको पाँच महिनामै उनी अर्को आरोपमा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पंडितका अनुसार थापाले कात्तिक ८ गते साँझ सुवेदीलाई टेलिफोनबाट कल गरेर हिन्दी भाषा प्रयोग गरी धम्क्याएका थिए।

२५ लाख रुपैयाँ माग गर्दै उनले अन्याथा सुवेदीको हत्या गर्ने र उनका बालक छोराको अपहरण गर्ने धम्की दिएका थिए।

कात्तिक १४, २०८० मंगलबार १९:१५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।