गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

बुटवल : रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै आन्दोलित बनेको सिद्धार्थ सञ्जाल, रुपन्देहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गरी विमानस्थल नियमित सञ्चालन नभए आन्तरिक उडान ठप्प पार्नेदेखि बेलहिया नाका बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको समाजले मंगलबार प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हाे।

लुम्बिनी आएका प्रधानमन्त्री प्रचण्डलाई आज ज्ञापनपत्र बुझाउँदै सञ्जालले यथाशक्य विमानस्थल नियमित र पूर्ण सञ्चालनका लागि कूटनीतिक पहलकदमी गर्न तथा नेपाल सरकारको स्वामीत्व रहेको नेपाल वायुसेवा निगमको जहाजहरूबाट उडान भर्न अपिल गरेको छ।

सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले यथाशक्य विमानस्थल नियमित र पूर्ण सञ्चालनका लागि कुटनीतिक पहलकदमी गर्न तथा नेपाल सरकारको स्वामीत्व रहेको नेपाल वायुसेवा निमगको जहाजहरुबाट उडान भर्न अपील गर्दै ज्ञापन पत्र बुझाएको बताए।

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले विमानस्थल सञ्चालनका लागि सरकार गम्भिर रहेको र यसबारे थप छलफल काठमाडौंमा हुने अश्वासन दिएको उनले बताए।

त्यस्तै सञ्जालले विमानस्थल नियमित सञ्चालनको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र गृहमन्त्री सन्तोष कुमार पाण्डेयलाई पनि मंगलबार ज्ञापनपत्र बुझाएको छ।

कात्तिक १४, २०८० मंगलबार १४:४४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।